कोरोना कहर कम हुँदै जान थाले पछि नाका क्षेत्रका बजारमा बढ्न थाल्यो कारोवार (फाेटाे फिचर सहित)

२४ चैत्र २०७६/डिकेश लामा

कोरोना कहरले लामो समय सीमा क्षेत्रका सुनसान बनेका बजारहरुमा पछिल्लो समय व्यवसायिक चहलपहल बढ्न थालेको छ । पूर्वी नाका काँकाडभिट्टाबाट पूर्ण खोपको प्रमाणले आवातजावत गर्न पाइने भए पछि सो क्षेत्रका बजारमा कारोबार समेत बढ्न थालेको छ । खासगरी तेस्रो लहर भारत र नेपालमै घट्दै गए पछि पछिल्लो समय नाका क्षेत्रका मानिसको आवातजावात समेत बढेको छ । भारतीय गाडीहरु नेपालमा सहज प्रवेश गर्न पाए पछि सीमाका बजारहरुमा कारोबार बढ्न थालेको व्यवसायीले बताएका छन् ।

पूर्वी नेपालको काँकडभिट्टा रानीगंज नाका क्षेत्रको दुवै देशका बजारहरु झण्डै दुई बर्ष सुनसान जस्तै बन्यो । खासगरी भारत तर्फको नेपाली ग्राहकले भरिभराउन हुने पानीट्याङ्की बजार र अधिक भारत तर्फबाट प्रवेश गरेका यात्रुबाट चल्ने काँकडभिट्टा बजारहरुमा हाल आएर व्यापर व्यवसाय बढेको साना यातायत व्यवसायी दिपा राईले बताउनु भयो । केही महिना अघिसम्म सहज नहुँदा यात्रुहरु नै पाउन गाह्रो थियो तर अहिले आएर धेरै यात्रुहरु पाउने गरेका छन् । तेस्रो लहरको कोरोना भाइरस नेपाल र भारतमा समेत कम हुँदै गए पछि हाल आएर नाका क्षेत्रका बजारहरुमा भिडभाड बढ्न थालेको छ ।

भाइरस कम भएसँगै भारतबाट हुने आयात समेत बढेको छ । गत आर्थिक बर्षमा फाल्गुण मसान्तसम्म ७ अर्व रुपयाँ भन्सार असुली भएकोमा यो बर्ष बढेर लक्ष्य भन्दा धेरै ११ अर्व पुगेको मेची भन्सार कार्यालय झापाका प्रमुख केशवराज ओलीले बताउनु भयो । ओलीका अनुसार पेट्रोलियम पदार्थको कारोवार बृद्धिले पनि भन्सार असुली बढेको छ । तर निर्यात बस्तुहरुको कारोवार भने घट्दै गएको उहाँले बताउनु भयो ।

अझै पनि नाका क्षेत्रमा आवात जावात गर्ने यात्रुहरुको कागजात परिक्षण भने भइरहेको छ । आवात जावात गर्नेहरुमा खोप नलगाइएकाहरुको एन्टिजेन परिक्षण गरिरहेको भए पनि एक महिना देखि यता पोजिटिभ भने नभेटिएको सीमा क्षेत्रमा स्वास्थ्य परिक्षणमा खटिनु भएकी शान्ता भण्डारीले बताउनु भयो । पूर्वी नेपालको दोस्रो ठूलो काँकडभिट्टा नाकाबाट पछिल्लो समय दैनिक हजारौंको संख्यामा मानिसहरु आवात जावात गर्न थालेका छन् । यसले व्यापारिक कारोवार बढ्न थाले पनि तेस्रो मुलुकमा पुनःबढ्न थालेको कोरोनाको जोखिम पनि बढ्न सक्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ७ संक्रमित, २५ निको
Next post नेपालमा आज १२ संक्रमित, ८९ निको