मतदानका लागि स्वदेश फर्कदंै नेपालीहरुः उनीहरु भन्छन् स्वदेशमै रोजगारको अवसर दिने जनप्रतिनिधिले जित्नु पर्छ
२६ बैशाख २०७९/डिकेश लामा
भारतमा काम गर्न गएका नेपालीहरु स्थानीय तहको निर्वाचनलाई लक्षित गरी घर फर्कन थालेका छन् । पूर्वी नेपालको मेची भन्सार नाकाको बाटो भएर केही दिन यता स्वदेश फर्कनेहरु बढ्न थालेका छन् । चुनाव नजिकिएसँगै भारत काम गर्न गएका नेपालीहरु घर फर्कन थालेका छन् । मौन अवधिमा अन्तराष्ट्रिय सीमा नाका बन्द हुने भए पछि मेची भन्सार नाका क्षेत्रमा आवात जावात समेत बढेको नाका क्षेत्रमा स्वास्थ्य परिक्षणमा खटिनु भएका स्वास्थ्यकर्मी सान्ता भण्डारीले बताउनु भयो । भण्डारीका अनुसार आवातजावात त्यतिकै भए पनि कामदारहरु फर्कने संख्या बढेको छ । चुनावका कारणले पनि फर्कने संख्या बढेको उहाँले बताउनु भयो ।
भारतको विभिन्न प्रान्तमा काम गर्न गएका नेपालीहरु कतिपय चुनावकै लागि पनि घर फर्कन थालेका छन् । तर पटक पटक चुनाव जितेर पनि वेराजगारी र विपन्नका लागि सरकारले खासै काम नगरेकाले त्यस तर्फ अव आउने उम्मेदवारले ध्यान दिनु पर्ने घर फर्किएकाले बताएका छन् । दोलखा जिल्ला जिरी नगरपालिका वडा नं. ८ घर भई सिक्किमबाट काम गरेर फर्कनु भएका राजु कार्कीले बताउनु भयो । देशमा रोजगार नभएकाले गाउँघरमै रोजगार दिने वातावरण बनाए अर्काको मुलुकमा जान नपर्ने बताउनु भयो ।
संघीयता कार्यान्वयनसँगै स्थानीय सरकार प्रति जनताको आश पनि केही बढेको छ । जसका कारण पनि काम गर्न गएकाहरु मतदानका लागि फर्कने संख्या बढेको झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनु भयो । प्रजिअ रिजालका अनुसार एकिन तथ्याङक नभए पनि पछिल्लो समय फर्कनेको संख्या बढेको छ । यस्तै २७ गते राती १२ बजेदेखि सिमा नाका बन्द हुने भएकाले पनि भारत तिर काम गर्न गएका नेपालीहरु मतदानका लागि घर फर्कन थालेको बताउनु भयो ।
झापा जिल्लाको मुख्य नाकाको रुपमा काँकडभिट्टा नाकालाई लिने गरिएको छ । लामो कोरोना कहर पछि खुलेको नाकामा निर्वाचन नजिकिएसँगै मानिसहरुको आवातजावात समेत बढेको स्थानीय बासिन्दाले बताएका छन् ।