ओली सरकारले ल्याएकाे दमककाे याेजना आगामी बजेटमा समेटिएन

१५ जेष्ठ २०७९, सारासन्देश समाचार–झापाकाे दमक वडा नं. ३ मा बन्ने भनिएकाे अन्तर्राष्ट्रिय स्तरकाे मदन भण्डारी रंगशालालाइ आगामी बर्षकाे बजेटले समेट्न सकेकाे छैन । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमक र उहाँको निर्वाचन क्षेत्रमा यसपटकको बजेट मार्फत अन्य नयाँ योजना समेत परेका छैनन्  । ओली सत्तामा हुँदा सरकारले ल्याउने बजेटको वर्चश्वमा रहने दमक यसपटकको बजेटमा भने खासै समेटिन सकिएकाे छैन ।

दमकमा नयाँ योजना आउनै सकेन भने अघिल्लोपटक परेका केही योजना कटौती भएको छ । ओलीको गृहनगरमा विगतको तुलनामा कम योजना परेको हो । आर्थिक वर्ष ०७८–०७९ मा परेका केही योजना आर्थिक वर्ष ०७९–०८० मा कटौतीसमेत भएको छ ।

मदन भण्डारी रंगशालाको नाममा पटकपटक बजेट विनियोजन भए पनि काम भने हुन नसकेपछि गत वर्ष यो रंगशाला दमक–३ मा निर्माण गर्ने गरी बजेट विनियोजन गरिएको थियो । रंगशाला निर्माणका लागि ठेक्का प्रक्रिया सुरु भए पनि ओली सत्ताबाट वहिर्गमन भएसँगै ठेक्का प्रक्रिया बीचमै रोकिएको थियो । यसपटक भने यो रंगशाला बजेटमै समावेश नहुँदा रंगशालाकाे याेजना संचालनमा समस्या थपिएकाे छ ।  यस्तै ओली नेतृत्वको सरकारले अघिल्लोपटक अध्यादेशमार्फत ल्याएको बजेटमा बालबालिकाको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराई वहुआयामिक विकास गर्न दमकमा गुणस्तरीय शिक्षा सहितको चिल्ड्रेन प्याराडाइज स्थापना गर्ने उल्लेख गरेका थिए । यसपटक यो योजना बजेटमा समावेश हुन सकेन । यो योजना सरकार परिवर्तनपछि कार्यान्वयन हुन सकेको थिएन । यस्तै गत वर्ष ल्याएको बजेटमा दमकमा बहुतले बसपार्कसहितको सिटी पार्क निर्माण गर्न उल्लेख गरेको थियो । यसपटक भने यो योजना पनि अघि बढ्न सकेन । गत वर्ष बजेटमा परे पनि बहुतले बसपार्क निर्माणको काम अघि बढ्न सकेको थिएन ।

दमकमा यसपटक एउटा पुरानो योजना मात्र बजेटमा समावेश भएको छ । दमकमा निर्माण गर्ने भनिएको नेपाल–चीनमैत्री औद्योगिक पार्क मात्र बजेटमा समावेश भएको छ । बजेटमा दमकमा औद्योगिक क्षेत्रको पूर्वधार निर्माणका लागि बजेट विनियोजन गर्ने उल्लेख छ । यो पुरानो योजना हो । ०७७ फागुनमा ओली प्रधानमन्त्री हुँदा यो औद्योगिक पार्क शिलान्यास भएको थियो । गत वर्षको बजेटमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने उल्लेख गरिएको थियो । यद्यपि हालसम्म निर्माणको काम अघि बढ्न सकेको छैन । हतारमा शिलान्यास भएका कारण मुआब्जा विवादसमेत अझै टुङगिन सकेकाे  छैन । यस्तै झापामा यस बजेटले भारतको सिलिगुढीदेखि चारआलीसम्म पेट्रोलियम पाइपलाइन विस्तार कार्य प्रारम्भ गर्ने उल्लेख गरिएको छ ।
पूर्वपश्चिम राजमार्गबाट झापाको सदरमुकाम चन्द्रगढी जोड्ने सडक स्तरोन्नति गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण कार्य सुरु गरिने बजेटमा उल्लेख छ । तर, पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढीसम्म चार लेन सडक निर्माणको काम धमाधम भइरहेको छ ।
बजेटमा मेची कोरिडोरअन्तर्गत झापाको केचनादेखि कञ्चनजंगा सकड स्तरोन्नति गर्न बजेट विनियोजन गरिएको छ । बिर्तामोड–जलेश्वर–जनकपुर रेल यातायात विस्तार सेवा सम्भावयता अध्ययन गर्ने बजेटमा उल्लेख छ ।
यस्तै, झापा भूमिगत जल सिँचाई आयोजनाबाट ७ हजार हेक्टरमा वर्षभर भरपर्दो सिँचाई उपलब्ध गराउन आयोजना कार्यान्वयन सुरु गरिने संसद्मा प्रस्तुत बजेटमा उल्लेख छ ।यस्तै, देशका विभिन्न नदीसहित झापाको कन्काई, रतुवा, मावा नदी नियन्त्रणमा वायो इन्जिनियरिङसहित नयाँ प्रविधिसहित प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी नदी नियन्त्रण गर्ने उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post आगामी आर्थिक वर्षको बजेट १७ खर्ब ९३ अर्ब ८३ करोडः किसानलाई पेन्सन दिनेगरी बजेटको व्यवस्था
Next post सवारी व्यवस्थापनमा लाग्दै सीमा क्षेत्र काँकडभिट्टाका ट्राफिक