
सडक दुर्घटनामा हजुरबुबा नातिनीकाे घटना स्थलमै मृत्यु:पूर्व पश्चिम राजमार्ग अवराेध
७ कार्तिक २०८१, झापा– पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको केर्खा बजारकाे प्रवेश मार्गमा भएकाे सडक दुर्घना तनावपूर्ण स्थिति बनेकाे छ। आक्रोशित भीडले प्रहरी विटमा आगजनी गर्नुका साथै केर्खा प्रहरी चौकीमा निरन्तर ढुंगामुडा गरिरहेका छन् । ठूलाे सङ्ख्यामा उपस्थित भएका स्थानीयले रतुवा माई वृक्षारोपण आयोजना अगाडि रहेको प्रहरी बिटमा आगजनी गरेका हुन् । सडकमा टायर बालेर उनीहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेर विरोध प्रदर्शन गरिरहेका छन् । असुरक्षित महसुस गरिरहेका सुरक्षाकर्मीहरू केर्खा प्रहरी चौकीभित्र रहेका छन् । भीडले चौकीमाथि आक्रमण गर्न प्रयास गरिरहेको छ । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले आशु ग्यास समेत प्रहार गरेका छन् । ठूलाे संख्यामा प्रहरी समेत परिचालन गरिएकाे छ ।
काँकडभिट्टाबाट काठमाडौँ हिँडेको प्र १–०१–००१ ख ४३३१ नम्बरको यात्रुवाहक रात्री बसले कमल गाउँपालिकाको केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको थियो । स्थानीय मनोज लिम्बूकी अन्दाजी १२ वर्षकी छोरी कृपा लिम्बू र उनका बुवा अन्दाजी ६० बर्षीय टेकबहादुर लिम्बुकाे घटनास्थल मै मृत्यु भएपछि तनावग्रस्त बनेको छ।
उनीहरूको शव सडकमा राखिएको छ । मृतक बालिकाको आज जन्मदिन रहेको र जन्मदिन मनाउन नातिनीलाई लिएर हजुरबुबाले बर्थडे केक लिन गएकाे स्थानीय बासिन्दाले जानकारी दिएका छन् । बर्थडे केक र मासु लिएर फर्कँदै गर्दा रात्रि बसले उनीहरूलाई ठक्कर दिएको थियो । बर्थडे केक र मासु सडकभरि छरपस्ट रहेको छ भने इलेक्ट्रिक साइकल क्षतिग्रस्त भएको छ ।