आगामी आर्थिक वर्षको बजेट १७ खर्ब ९३ अर्ब ८३ करोडः किसानलाई पेन्सन दिनेगरी बजेटको व्यवस्था

१५ जेष्ठ २०७९,काठमाडौँ– सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान विवरण प्रस्तुत गर्नु भएकाे छ । कुल विनियोजनमध्ये चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१ दशमलव २ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड अर्थात् १२ दशमलव ८ प्रतिशत विनियोजन गरिएको छ । त्यसैगरी प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात् २४ प्रतिशत बजेट छुटयाइएको छ । यस्तै अनुमान गरिएको खर्चको स्रोत व्यहोर्न आन्तरिक राजस्वबाट १२ खर्ब ४० अर्ब, वैदेशिक अनुदानबाट ५५ अर्ब ११ करोड लिइनेछ । त्यस्तै, वैदेशिक ऋणबाट २ खर्ब ४२ खर्ब २६ करोड र २ खर्ब ५६ अर्ब आन्तरिक ऋण गरी कुल ४ खर्ब ९८ अर्ब ४६ करोड रुपैयाँ बराबर ऋण लिइनेछ ।

१५ प्रतिशत तलब बृद्धि

सरकारले सरकारी कर्मचारीको १५ प्रतिशत तलब बृद्धि गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले महंगी भत्ता लगायतका खाइपाई आएका सुविधा कायम गर्दै तलब बृद्धि गरेको घोषणा गर्नुभएको छ ।

अब ६८ वर्षदेखि नै बृद्धभत्ता

सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)मा सामाजिक सुरक्षाअन्तर्गत वृद्धभत्ता ६८ वर्षदेखि नै पाउने व्यवस्था गरेको छ ।

अपराह्न ४ बजेदेखि सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुभएको आगामी आवको बजेटमा यसअघि ७० वर्षदेखि वृद्धभत्ता पाउने व्यवस्थालाई संशोधन गर्दै ६८ वर्षदेखि नै पाउने व्यवस्था गरेको उल्लेख छ ।

सामाजिक सुरक्षाअन्तर्गत वृद्धवृद्धाहरूले मासिक रु चार हजार पाउँदै आएका छन् । अर्थमन्त्री शर्माले सामाजिक सुरक्षा भत्ता नलिने स्वघोषणा गर्ने व्यक्तिलाई सरकारले सम्मान गर्ने बताउनुभयो । बैठकमा अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गरिरहनुभएको छ ।

किसानलाई पेन्सन

सरकारले किसानलाई पेन्सन दिने योजनासहित यसै आर्थिक बर्षदेखि बजेटको व्यवस्था गरेको छ । जसका लागि एक अर्व रूपयाँ विउ पूँजीकाे रूपमा विनियाेजन गरिएकाे छ ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक बर्ष २०७९/८० को बार्षिक बजेट संसदमा प्रस्तुत गर्दै किसान पेन्सनको योजना सार्वजनिक गर्नुभएको हो ।

बजेटकाे पूर्ण पाठ हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस्।

budget 2079-80

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बालबालिका लागि ८४ लाख मात्रा खाेप अमेरिकाबाट अनुदानमा आउने
Next post ओली सरकारले ल्याएकाे दमककाे याेजना आगामी बजेटमा समेटिएन