स्वतन्त्र उम्मेद्वारमा मोह बढ्दैः झापामा ५६ जनाको उम्मेदवारी

१५ सीटमा झापामा २२७ जनाकाे मनाेनयन दर्ता

२४ असोज २०७९/सारासन्देश समाचार

राष्ट्रिय चासोको रुपमा हेरिएको झापाको ५ वटा निर्वाचन क्षेत्रको १५ वटा पदमा ५६ जना स्वतन्त्र उम्मेद्वारले मनोनयन दर्ता गरेका छन् । यस्तै जम्मा जिल्लामा २ सय २७ जनाको उम्मेद्वारी परेको छ । ५ वटा प्रतिनिधिसभा सदस्य पदमा १ सय १ जना र १० वटा प्रदेशसभा सदस्यको पदमा १ सय २६ जनाको उम्मेद्वारी परेको जिल्ला निर्वाचन कार्यालय झापाले जानकारी दिएको छ । ती मध्ये ३३ जना प्रतिनिधिसभा सदस्य र २३ जना प्रतिनिधिसभा सदस्यमामा स्वतन्त्र उम्मेद्वारले मनोनयन दर्ता गरेका छन् ।

जिल्लामा राप्रपा र एमालेको तालमेल भएको छ । जसमा एक प्रतिनिधिसभा सदस्य सहित २ वटा प्रदेशसभा सदस्यमा राप्रपाको उम्मेदवारी परेको छ । यता गठबन्धनबाट नेपाली काँग्रेशले ४ प्रतिनिधिसभा सदस्य र ५ वटा प्रदेशसभा सदस्यमा उम्मेद्वारी दिएको छ भने बाँकी पदमा माओवादी केन्द्र र एउटा प्रदेशसभा सदस्य पदमा नेकपा एसको उम्मेद्वारी रहेको छ ।

शीर्ष नेतृत्वको रुपमा जिल्लामा क्षेत्र नं. ५ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, क्षेत्र नं. ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र क्षेत्र नं. १ मा काँग्रेशका महामन्त्री विश्व प्रकाश शर्माको उम्मेद्वारी दर्ता भएको छ । ओलीको निकटतम् प्रतिद्वन्द्वीको रुपमा काँग्रेसका डा. खगेन्द्र अधिकारी, राप्रपाका लिङदेनको काँग्रेशका कृष्ण सिटौला र नेका महामन्त्री शर्माको अग्नी खरेल रहेका छन् ।

युग पाठक ओलीसँग भिड्ने


झापाको निर्वाचन क्षेत्र नं. ५ बाट स्वतन्त्र उम्मेद्वारका रुपमा चर्चित लेखक युग पाठकले प्रतिनिधिसभा सदस्यमा उम्मेद्वारी दर्ता गर्नु भएको छ । उम्मेदवारी दर्तासँगै उहाँको भिडन्त पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओलीसँग हुने छ । उहाँसँगै स्वतन्त्र उम्मेदवारको रुपमा यो निर्वाचन क्षेत्रबाट १४ जनाले मनोनयन दर्ता गरेका छन् ।
यस्तै उहाँको अर्का प्रतिद्वन्द्विको रुपमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेशका महाधिवेशन प्रतिनिधि डा. खगेन्द्र अधिकारीले उम्मेद्वारी दर्ता गर्नु भएको छ । यस अघिको निर्वाचनमा नेकपा अध्यक्ष ओलीले ५७ हजार १ सय ३९ मत प्राप्त गर्दा अधिकारीले २८ हजार २ सय ९७ मत प्राप्त गर्नु भएको थियो । योसँगै निक्कै चासोका साथ हेरिएको झापाको क्षेत्र नं. ५ मा मात्र प्रतिनिधिसभा सदस्य पदमा २७ जनाको उम्मेदवारी परेको छ ।
यस्तै प्रदेशसभा सदस्यको क मा ११ जना र ख मा १६ जनाको उम्मेद्वारी परेको छ । ती मध्ये १० जना स्वतन्त्र उम्मेद्वार रहेको निर्वाचन अधिकृत डम्बर प्रसाद काफ्लेले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post ओलीको भिडन्त पुनः अधिकारीसँगैः जिल्लामा क–कसको कहाँबाट हुँदैछ भिडन्त ? (फाेटाे फिचर)
Next post तासमा विवाद हुँदा हत्या गरेको अभियोगमा ३ पक्राउ