झापाकाे चर्चित र पुरानाे धार्मिक पर्यटकीय क्षेत्र दोमुखाकाे मुहार फेरिँदै (फाेटाे फिचर)
१९ मंसीर २०७९/रञ्जना तामाङ
झापाको पुरानो नाम चलेको धार्मिक पर्यटकीय क्षेत्र दोमुखाको मुहार फेरिन थालेको छ । संघीयता कार्यान्वयनमा आएसँगै यस क्षेत्रको विकासमा सरकारले चासो देखाए पछि पुरानो पर्यटकीय क्षेत्र आकार्षणको केन्द्र बन्न थालेको छ । झापाको सवैभन्दो ठूलो नदि कन्काई माइको चुरे भागमा पर्ने धार्मिक पर्यटकीय दोमुखा क्षेत्रको पछिल्लो समय मुहार फेरिँदै गएको छ । केही बर्ष अघिसम्म खासै घरहरु नभएको सो क्षेत्रमा पछिल्लो समय पर्यटकीय क्षेत्रको विकासले मानिसहरुको चहलपहल समेत बढ्न थालेको छ । यस अघि खासै विकास नभएको दोमुखा क्षेत्रमा पछिल्लो समय जनघनत्व समेत बढ्दै गएको छ । प्रजातन्त्र स्थापना पछि २ पटक गाविस अध्यक्ष बन्नु भएका ७९ बर्षीय तारासोम योङ्याका अनुसार शिवसताक्षी क्षेत्रको सतासीधाम, दोमुखा र चिल्लागढलाई त्रिधाम बनाउने योजना अघि सारे पछि दोमुखा क्षेत्रमा मानिसको बसोवास हुन थालेको हो । त्यस अघि खासै घरहरु नभएको क्षेत्रमा अहिले आएर धेरै विकास भएको र अझै पनि यस क्षेत्रको विकासमा सरकारले जोड दिनु पर्ने उहाँले बताउनु भयो ।
यस बर्ष स्थानीय सरकार मार्फत साढे ६ करोड बजेट विनियोजन गरिएको छ । शिवसताक्षी नगरपालिकाको गौरवको योजनाको रुपमा अघि सारिएको दोमुखा क्षेत्रको विकासमा विशेष चासो दिएर काम अगाडि बढाइएको नगर प्रमुख मेघाहाङ्ग थोप्राले बताउनु भयो । थोप्राका अनुसार यस बर्ष पूर्व पश्चिम राजमार्गबाट दोमुखा जाने झण्डै ३ किलो मिटर सडक निर्माणका लागि स्थानीय सरकारले मात्र ६ करोड रकम विनियोजन गरी ठेक्का प्रणालीबाट काम अगाडि बढाइएको छ । यो बाटो कालो पत्रे बने पछि पर्यटकीय क्षेत्रको विकासमा थप टेवा पुग्ने उहाँले बताउनु भयो ।
कन्काई नदिमा ड्याम निर्माण गरी बोटिङ्ग, र्याफ्टिङ्ग, बोटानिकल गार्डेन, भ्यू टावर लगायतका ३३ करोड बजेटको डीपीआर सहितको गुरु योजना यस अघि नै निर्माण गरिएको छ । जस अन्तर्गत चिल्डे«न पार्क, वाटर पार्क लयायतका कामहरु अन्तिम चरणमा पुगेको छ । यसले गर्दा बर्षेनी पर्यटकहरको आगमन बृद्धि हुँदै गएको दोमुखा धार्मिक तथा पर्यटकीय विकास समितिका उपाध्यक्ष रमेश तिम्सिनाले बताउनु भयो ।
यस्तै हालै सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनबाट निर्वाचित बन्नु भएको सो क्षेत्र झापा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य एलपी साँवाले यस अघि पनि आफूले दोमुखा क्षेत्रको विकासमा बजेट विनियोजन गर्न विशेष पहल गरेको र पुन जोड दिने बताउनु भयो । उहाँले दोमुखा क्षेत्रको विकास गर्न सके झापाकै गहना बन्ने बताउनु भयो ।
संघीय सरकार आएसँगै विकास थालिएको दोमुखा क्षेत्रमा हालसम्म झण्डै १२ करोड हाराहारीमा बजेट खर्च भइ सकेको छ । यस बर्ष स्थानीय सरकारले ठूलो बजेट विनियोजन गरी सडक निर्माण गर्ने भए पछि दोमुखाको विकासमा थप टेवा पुग्ने स्थानीय बासिन्दाको भनाइ छ ।