१३ बैशाख २०८०, झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कालाे झण्डा देखाउँदा भएकाे झडपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मित्र लिङ्देन र बुलेट किराती राई रहेका छन् । पक्राउ परेका मध्ये लिङ्देन सन्जुहाङ पालुङवा नेतृत्वको संघीय लिम्बूवान पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष तथा चलचित्र क्षेत्रका कलाकार हुन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय भद्रपुरमा राखिएको छ ।
झापाको बुद्धशान्ति गाउँपालिकामा आज आयोजित कार्यक्रममा कोशी प्रदेश नामकरणको विरुद्धमा आन्दोलित पहिचानवादीहरुले ओलीलाई कालाे झण्डा देखाउँदै ओली विरूद्ध नाराबाजी गर्दा प्रहरीले राेक्न खाेज्दा झडप भएकाे छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार पहिचान पक्षधरले कार्याक्रम विथाेल्न खाेज्दा प्रहरीसंग झडप भएको हाे । एमाले अध्यक्ष ओलीलाई आक्रमण गर्न खोज्ने पहिचानवादीहरुले हानेको ढुंगा लागेर इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक अनिल मावोहाङसहित दुई प्रहरी घाइते भएका छन् । प्रहरी निरीक्षक मावोहाङकाे टाउकाेमा सल्यक्रिया गर्नु पर्ने अवस्था अाएकाे र सहायक हवल्दार सोमित राजवंशीकाे गालाकाे हड्डी फुटेकाे प्रहरी नायब उपरिक्षक रिजालले जानकारी दिनु भयाे ।
नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीले आफूहरुको कालो झन्डा देखाउने कार्यक्रम रहेको र कार्यक्रम सकेर फर्किन लाग्दा युवा संघका कार्यकर्ताहरुले घुसपैठ गरी ढुंगा हानेको दावी गर्नु भयाे । ‘कालो झन्डा देखाएर पत्रकार सम्मेलनका लागि हामी फिर्न लागेका थियौं’ उहाँले भन्नु भयाे,‘ त्यही बेला घुसपैठ भई ढुंगा हान्ने काम भएको हो ।’ ओली बुद्धशान्ति गाउँपालिकाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी भएका छन् । ओलीलाई विरोध गर्न करिव तीन सयको संख्यामा पहिचानवादीहरु कार्यक्रम स्थलमा पुगेकाे बताइएकाे छ ।
यसैवीच, प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले विज्ञप्ति निकालेर प्रहरीले पक्राउ गरेका आफना कार्यकर्तालाई विना सर्त रिहा गर्न माग गरेको छ ।
