आज दाहाल–नेपालकाे विशाल विराेध सभाः जनताको आक्रोश र पीडालाई नबुझे सिंहदरबार र बालुवाटार घेर्न आउने दाहालको ओलीलाई चुनाैती

२८ माघ २०७७,काठमाडौँ – नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले अटेर गरिरहे अझै सिंहदरबार र बालुवाटार घेर्ने ठूला आन्दोलन हुने चेतावनी दिएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा बुधबार आयोजित विरोधसभामा सम्बोधनमा पूर्वप्रधानमन्त्री रहेका दाहालले प्रतिगमन, निरंकुशता र लोकतन्त्रको हत्या गर्ने केपी ओली चरित्र जनताले बुझिसकेकोले जरुरी पर्‍यो भने बालुवाटार र सिंहदरबार घेर्ने ठूलो आमसभा हुने बताएका हुन् ।

‘अझै पनि लाखौं जनताको उपस्थिति र यो विरोध, आक्रोश, आवेक, पीडालाई बुझ्नुभएन भने म तपाईंलाई चुनौती दिन्छु सिंहदरबार घेर्न र बालुवाटार घेर्न आउनेछ,’ ओलीलाई दाहालले भने, ‘प्रतिगमन, निरंकुशता लोकतन्त्रको हत्या गर्ने तपाईंको चरित्र जनताले बुझिसकेको छ । त्यसकारण जरुरी पर्‍यो भने बालुवाटार र सिंहदरबार घेर्ने ठूलो आमसभा हुनेछ ।’

केपी ओलीजीले जुलुस, आमसभा कस्तो हुन्छ देखाउँछौं भन्दै दिएको चुनौती स्मरण गराउँदै दाहालले भने- ‘केपीजी देख्नु भयो सभा कस्तो हुन्छ ? देख्नु भयो विरोध, प्रदर्शन कस्तो हुन्छ ?’ दाहालले आफू स्टेजमा रहँदा आजको सभामा ५ लाख सहभागी भएको एसएमएस आएको उल्लेख गर्दै त्यो आफ्नो अनुमान नभएको प्रस्ट्याए ।

नारायणहिटी दरबार संग्राहलयअगाडि २३ गते केपी ओली समूहले गरेको सभा सारा राज्यकोषको दुरुपयोग गरे पनि उत्साहजनक नभएको उनको भनाइ थियो । अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली मदन भण्डारीको नाम छाडेर पशुपतिनाथको नाम जप्न थालेको बताएका छन् । नेता नेपालले ओलीले मदन भण्डारीको नाम जप्न छाडेर पशुपतिनाथको नाथको नाम जपेपनि माफी नपाउने बताएका हुन् ।

‘केपी ओलीजी तपाईंले मदन भण्डारीको नाम जप्ने गर्नुहुन्छ । अब त्यो नाम पनि बिर्सिसक्नु भएको छ । अहिले पशुपतिनाथको मन्त्र जप्न सुरु गर्नुभएकोछ,’ नेता नेपालले भने, ‘तर पशुपतिनाथले कसलाई माया गर्छन् थाहा छ ? जो मानिस असल छ, राम्रो प्रवृत्तिको छ, जसले धर्म गर्दछ । पाप गर्नेलाई पशुपतिले पनि माफी गर्दैनन् । अधर्मीलाई पशुपति नाथले माया गर्नुहुन्न । केपी ओलीलाई चेतना भया ।’ देशमा बलात्कारका घटना बढेको भन्दै नेपालले बलात्कृत भएका चेलीहरुले ओलीलाई धिक्कारेको बताए ।

वरिष्ठ नेता झलनाथ खनालले केपी ओली राजनीतिक र सैद्धान्तिक रुपले पराजित भइसकेको बताए । नेता खनालले ओलीलाई मार्क्सवादमा विश्वास हुन छाडेर पशुपतिनाथको मूर्तिमाथि विश्वास हुन थालेको बताए ।

‘केपी ओली राजनीतिक र सैद्धान्तिक रुपले पराजित भइसके । अब पशुपतिनाथमा गएर संकल्प पूजा गर्ने अवस्थामा पुगिसिके । मार्क्सवादमाथि विश्वास छैन, भविष्यमाथि विश्वास छैन । ओलाई अब पशुपतिनाथको मूर्तिमाथि विश्वास छ,’ खनालले भने ।

अहिलेको लडाइँ नेकपाको दुई गुटको नभइ ओलीको प्रतिगामी कदमविरुद्ध भएको खनालको भनाइ छ । ‘यो आन्दोलन प्रतिक्रान्तिका विरुद्ध, सम्पूर्ण नेपाली जनताको आन्दोलन हो । यो क्रान्ति हो । प्रतिक्रान्ति भएको देशमा । त्यो प्रतिगनम हो,’ उनले भने,’त्यसका विरुद्ध अर्को क्रान्ति गर्दैछौं । ओलीको तानाशाही प्रवृत्तिविरुद्ध हो । सिंगो देशका जनताको आन्दोलन हो । नेकपाको दुई गुटको लडाइँ हैन ।’

समाचार स्राेतः कान्तिपुर अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post ढेड हजार रूपयाँले बढ्याे सुन
Next post नेपालमाआज ११८ निकाे १३४ संक्रमित