
झापा : जंगली हात्तीको आक्रमणबाट भद्रपुर नगरपालिकामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर–२ गौरीशङ्करकी ५० वर्षीया सीता दाहाल रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।
केही दिनदेखि जलथलको चारकोशे जंगलबाट निस्किने जंगली हात्तीले त्यस क्षेत्रमा आतङ्क मच्चाउँदै आएको छ। आहारको खोजीमा गाउँघर निस्किँदै आएका हात्तीले दर्जर्नौं घर भत्काइसकेको स्थानीयले बताएका छन्।
प्रहरीका अनुसार कमलधाप राम पोखरी सामुदायिक वनमा सोमबार दिउँसो साथीसँग घाँस काट्न गएकी उनलाई हात्तीले आक्रमण गरेको थियो। हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल पठाउने प्रहरीले बताएको छ।
