२२ असाेज २०८०,काठमाडौँ– मन्त्रीपरिषदको आजको विशेष बैठकले इजरायलमा हमासको आक्रमणमा परी निधन भएका नेपाली नागरिकको सम्मानमा भोलि राष्ट्रिय शोक मनाउने निर्णय पनि गरेको छ । बैठकले मृतकको परिवारलाई राहत स्वरुप प्रतिव्यक्ति तत्काल १०/१० लाख रुपैयाँ दिने निर्णग पनि गरेको छ ।
यसैगरी, मन्त्रीपरिषदको बिशेष बैठकले इजरायलमा हमासको आक्रमणमा मृत्यु भएका नेपाली नागरिकको शव यथाशक्य नेपाल ल्याउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकले आतंकवादी आक्रमणमा परी १० जना नेपाली युवाहरुको निधन भएकोमा गहिरो दु:ख व्यक्त गर्दै दिवंगतप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । साथै बैठकले परिवारजनमा समवेदना प्रकट गरेको छ ।
मृतकको शव तथा त्यहाँ फसेका नेपालीहरुलाई यथाशक्य नेपाल ल्याउन नेपाल सरकार र इजरायल सरकारवीच कूटनीतिक पहल भइरहेको जानकारी दिँदै परराष्ट्रमन्त्री एनपी साउदले नेपाल एयर लाइन्स र हिमालय एयर लाइन्सका जहाजहरु तयारी आवस्थामा राखिएको बताउनुभयो । नेपालीको उद्धार गर्न सरकारको तर्फवाट कुनै कसर बाँकी नराखिएको उल्लेख गर्दै मन्त्री साउदले प्रधानमन्त्री प्रचण्ड र आफूले फसेका युवाहरुसँग प्रत्यक्ष कुरा गरेर वस्तुस्थितिवारे जानकारी लिएको बताउनु भयो । यसैबीच यता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलको बङ्करमा रहेका नेपाली विद्यार्थीसँग कुराकानी गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री प्रचण्डले इजरायलको बङ्करमा रहनुभएका नेपाली विद्यार्थी विपीन सुवेदीसँग संवाद गर्नुभएको हो । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार प्रधानमन्त्री प्रचण्डले नेपाली विद्यार्थीलाई शीघ्र उद्धार गरिने र त्यसका लागि सरकार लागिपरेकाले नआत्तिन आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले सरकार पछिल्लो तीन दिनदेखि नेपाली विद्यार्थीको उद्धारमा लागिपरेको बताउनुभएको थियो । उहाँले सोही विषयमा छलफल गर्न आजै मन्त्रिपरिषद्को बैठक बोलाइएको र सर्वदलीय बैठकमा समेत सोही विषयमा छलफल हुने बताउनुभएको छ ।
