विराटनगरको कवाडी गोदाममा आगलागीमा २ जनाको मृत्युः ४ घाइतेलाई काठमाण्डाैं पठाइयाे

२० मंसिर २०८०, विराटनगर– विराटनगर महानगरपालिकाको वडा नं. ७ स्थित मुख्य बजारको बीचमा रहेको कवाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ ।  यस्तै आगलागीमा परी अन्य ४ जना घाइते भएका छन् ।

आगलागीमा परी विराटनगर वडा नं. ६ का दीपक मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिनुभयो । उहाँले अर्का एक जनाको कवाडी गोदाममा नै मृत्यु भएको र उनको पहिचान नखुलेको बताउनु भयो । दिउँसो करिब डेढ बजे परफ्युमको बट्टा फुटाल्ने क्रममा कवाडीमा आगलागी भएको कवाडीमा काम गरिरहेका कामदार किशोर पासमानले जानकारी दिनु भयाे ।

आगलागी शुरु भएपछि बाहिरका केही मानिस आएर आफुहरुलाई उद्धार गरी अस्पताल लगेको पासमानले जानकारी दिनुभयो । आगलागीमा परेका दीपक मण्डलको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । आगलागीमा परी घाइते भएका चार जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । नेपाली सेनाको स्काई ट्रकमा बुधबार बेलुका काठमाडौं पठाइएको हो । विराटनगरको मुख्य बजार क्षेत्र सातघुम्तीमा रहेको कवाडी पसलमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको थियो । चार जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ ।

करिब २ घण्टा पछि आगलागी नियन्त्रणमा आएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयका साथै विराटनगर महानगरपालिकाको दुई वटा, दुहबी र सुन्दर हरैँचाको एक एक गरी ४ वटा दमकलले आगो नियन्त्रणमा लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post ठेक्का लिएर काम नगर्ने निर्माण ८ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखियाे
Next post नेपालको एक मात्र कृषि पर्यटकीय क्षेत्र गौरादहमा आगन्तुक बढ्दै (फाेटाे फिचर)