
चाडबाड नआएकै राम्रोः दशैंले दुःखाउँछ भूटानी शरणार्थीलाई
२९ असोज २०८१/डिकेश लामा
३३ बर्ष अघि देश छाडे देखि पूर्वी नेपालको शरणार्थी शिविरमा बस्ने धेरै बृद्धबृद्धाले दशैंमा टिका लगाएका छैनन् । आफ्न आफन्त छिन्नभिन्न भए पछि एक्लिएकाहरुलाई दशैंमा सुख भन्दा पनि धेरै पीडा हुने गरेको छ ।
पारिवारिक विखण्डनका कारण पूर्वी नेपालको झापा तथा मोरङ्गमा बस्ने भूटानी शरणार्थीहरु मध्ये धेरैले दशैं नै मान्न पाएका छैनन् । आफ्ना आफन्त एकै ठाउँमा भेला भएर मनाउने दशैं पर्व परिवारका सदस्यहरु छिन्न भिन्न हुँदा खल्लो बनेको छ । सन् १९९० मा आउने दशैंमा भूटान नै फर्केर दशैं मनाउँला भनेर देशबाट बाहिर निस्केका धेरै नेपालीभाषी भूटानीहरु अझैसम्म देश फर्कन पाएका छैनन् । जुन दिन देशबाट बाहिर निस्किनु पर्यो त्यसै दिन देखि निधारमा टिका पर्न नसकेको भूटान राष्ट्रिय मेलमिलाप केन्द्रका अध्यक्ष कृष्णविर तामाङले बताउनु भयो । तामाङका अनुसार ‘भुटानमाबाट बाहिरिए पछि प्रवासमा पीडादायी शरणार्थी जिवन विताउँदै आइरहेको वेला तेस्रो मुलुक पुनर्वासले पारिवारिक विखण्डन भए पछि पीडा थप भएको छ । पीडाको वेला भनौं सवै एक स्थानमा भेला हुने बेला एक्लै हुुनु पर्दा कसले खुशीले मनाउँला र दशैं ।’ उहाँले बताउनु भयो ।
खासगरी परिवारका सदस्यहरुबाट एक्लिएका भूटानीहरुमा दशैंको कुनै मतलव नै हुँदैन । दशैं आउँदा अरुको निधारमा टिका देख्दा विगतको यादले सताउने गरेको बेलडाँगी शरणार्थी बस्तीकी धनमाया मगरले बताउनु भयो । मगरका अनुसार दशैं आएको भन्दा पनि नआएकै राम्रो । भूटानमा हुँदा जति रमाईलो थियो त्यो दिन सम्झनामा मात्र सिमित रहेको उहाँले बताउनु भयो ।
देशमा प्रजातन्त्र माग गर्दाखेरी शरणार्थी बन्नु परेको पीडाले धेरैलाई चाडबाडमा दुःखी बनाउने गरेको छ । प्रवासमा बसेर जति नै रमाइलो गरे पनि ३३ बर्ष देखि खोजिएको अधिकार नपाउँदा दशैं तिहारको कुनै अर्थ नरहेको लामो समयदेखि शिविरको नेतृत्व गर्दै आउनु भएका शिविर सचिव सन्चहाङ्ग सुब्बाले बताउनु भयो । सुब्बाका अनुसार पारिवारिक मिलनको रुपमा हेरिएको चाड दशैंमा अधिकांश भूटानीहरुको विछोड भएकाले दशैंले शरणार्थीमा खुशी भन्दा बढी पीडा थप्ने गरेको उहाँले बताउनु भयो ।
पछिल्लो समय ६ हजार हाराहारीमा रहेका भूटानी शरणार्थीहरुका कतिपय सदस्य भुटान र अमेरिका लगायतका मुलुकमा रहेका छन् । छिन्नभिन्न परिवारबाट एक्लिएका बालबालिका र बृद्धबृद्धामा भने चाडबाडले खुशी भन्दा पनि दुःखी बनाउने गरेको उनीहरुको भनाइ छ । पछिल्लो समय शिविरमा जम्मा जनसंख्याको झण्डै १५ प्रतिशत बालबालिका र बृद्धबृद्धा एकल र अभिभावकविहीन हुनु परेको शरणार्थी बस्ती व्यवस्थापन समितिका सचिव सुब्बाले जानकारी दिनु भएको छ ।
नेपाल टेलिभिजनमा प्रसारित सामाग्रीकाे लिंक पनि हेर्नुहाेस् ।
https://www.facebook.com/neptv2041/videos/885515213301932