अनलाइनबाट स्वदेशी सतासी महको व्यवसाय बढ्दै
९ पुस २०८१/डिकेश लामा
अनलाईनबाट कारोवार हुन थाले पछि झापाको शिवसताक्षी नगरपालिकाका महिलाहरुले उत्पादन गरेको महको माग बढ्दै गएको छ । शुद्ध मह उत्पादन गरी बजारीकरणमा जुटेका महिलाहरुले उत्पादन गरेको मह तेस्रो देशहरुमा समेत निर्यात हुन थालेको छ । सहारासँग एकिकृत भएर व्यवसाय थालेकाे १ बर्ष पछि पुनः साझा व्यवसायबाट अगल भएकाे सतासी महिला माैरी पालन सहकारी संस्था मार्फत नै काराेवार थाले पछि व्यवसाय माैलाउन थालेकाे संस्थाकी व्यवस्थापक देवी दाहालले बताउनु भयाे ।
५६ बर्षीय दाहालले शुरुमा १२ बर्ष अघि २ घारबाट मौरी पालन थाल्नु भएको हो । अहिले उहाँसँग २ सय घार मौरी छन् । केही बर्ष यता बार्षिक ३० देखि ३५ लाख रुपयाँसम्म मौरीको मह विक्री गरेर आम्दानी गर्ने गरेको उहाँले बताउनु भयो । साझा संस्थाबाट अगल हुनु पर्दा उद्याेगमा लगानी भएकाे रकम फिर्ता नहुँदा भने समस्या भएकाे उहाँले बताउनु भयाे ।
शिवसताक्षीमा रहेको सतासी महिला मौरी पालन सहकारी संस्था कोशी प्रदेशमै बृहतरुपमा मौरी पालन गर्ने संस्थाको रुपमा चिनिएको छ । संस्थाले बार्षिक ६० हजार केजी झण्डै ३ करोड मुल्य बढीको मह विक्री गर्दै आएको छ । अहिले तेस्रो मुलुकबाटसम्म अनलाइनबाट महको माग हुन थालेको र दैनिक २५ केजी बढी मह अनलाइनबाट मात्र विक्री हुन थालेकाे उहाँले बताउनु भयाे ।
ढेड दशक अघि १० घार मौरी पालनबाट शुरु गरेको संस्थाले अहिले झण्डै ५ हजार घार मौरी पालन गर्दै आएको छ । सरकारले प्याकेजिङ, प्रशोधन र भण्डार यन्त्र अनुदानमा उपलव्ध गराए पछि अर्डर अनुसारको मह बजारमा निकाल्न सहज भएको संस्थाकी लेखापाल चित्रकला मावोले बताउनु भयो ।
मेहनेत गर्दा स्वदेशमै पनि विदेशमा भन्दा राम्रो कमाइ गर्न सकिन्छ भन्ने उदाहरण मौरी पालनमा जुटेका महिलाहरुले देखाएका छन् । स्वदेशमामा बसेर व्यवसाय गर्दा सामाजिक सम्बन्धसँगै रोजगारीका अवसर समेत सृजना हुने मेहनेती महिलाहरुको भनाइ छ ।