प्रथम चौमासिकमा मेची भन्सारबाट झण्डै दोब्बर मुल्यको चिया निर्यात
४ पुस २०८१/झापा
पूर्वी नेपालकाे दाेस्राे ठूलाे मेची भन्सार नाका हुँदै प्रथम चौमासिकमा २ अर्व २० करोड १५ लाख मुल्यकाे चिया निर्यात भएको छ। तर गत आर्थिक बर्षमा भने १ अर्व ३१ करोड ३४ लाख मुल्यको चिया निर्यात भएको थियाे । अघिल्लो आर्थिक बर्षमा समग्रमा चिया निर्यातमा कमि भए पनि यो बर्ष भने उल्लेख्य चिया निर्यात भइरहेको मेचि भन्सार कार्यालय झापाले जनाएको छ ।
गत बर्ष साउन देखि कार्तिकसम्म ५५ लाख ८० हजार केजी निर्यात भएकोमा यो बर्ष ८० लाख ६२ हजार केजी चिया निर्यात भएको छ । पूर्वी नेपालको इलाम र झापामा बनेका अर्थोडक्स र हरियो चिया भने विश्वका विकसित मुलुकहरुसम्म पुग्ने गरेको उत्कृष्ट चिया उत्पादन गर्दै आएको तिनजुरे चिया कृषक सहकारी संस्थाका व्यवस्थापक पदम तामाङले बताउनु भयो । तामाङका फाकफाेकथुमकाे तिनजुरे चियाकाे माग पछिल्लाे समय बढ्दै गएकाे छ । विभिन्न देशका चियाकाे प्रतिष्पर्धा भएकाेमा चीनकाे चिया सम्मेलनमा अाफूहरूले उत्कृष्ट चियाकाे उपाधी पाएकाे बताउनु भयाे ।
तेस्रो मुलुकमा सिटसी चिया भन्दा पनि बढी गोल्डेन, ग्रीन, ह्वाइट लगायतका महँगो र स्वास्थ्यबद्र्धक चियाको माग हुन थालेको छ । पूर्वी नेपालको झापा, इलाम र धनकुटा देशकै सवै भन्दा धेरै चिया उत्पादन हुने जिल्लामा पर्दछन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङकमा नेपालमा २७ हजार ५ सय हेक्टर क्षेत्रफलमा चिया खेती हुन्छ । जस मध्ये १० हजार ५ सय हेक्टर क्षेत्रफलमा झापामा चिया खेती हुँदै आएको बताइएको छ ।