मुल्य बढे पनि अलैंचीको निर्यात घट्योः प्रतिमन १ लाख १० हजारसम्म काराेवार हुँदै
२ पुस २०८१/झापा
पूर्वी नाकामा रहेको मेची भन्सारबाट पहिलो चौमासिकमा अलैंची निर्यात घटेको छ । अघिल्लो बर्षको ४ महिनाको विवरणको तुलना गर्दा अलैंची निर्यात घटेको हो । गत आर्थिक बर्ष २०८०/८१ मा ४ महिनाको अवधिमा १७ लाख ३७ हजार केजी निर्यात भएको थियो । तर चालु आर्थिक बर्षको सोही अवधिमा १२ लाख ५ हजार केजी मात्र अलैंची निर्यात भएको छ ।
झण्डै १ दशक यता प्रति मन १ लाख रुपयाँ मुल्य नाघेको यो बर्ष अपेक्षितरुपमा अलैैचीको उत्पादन समेत घटेको छ । यो बर्ष प्रति मन १ लाख १० हजारसम्म बजारमा अलैंची किनवेच भइरहेको छ । विदेशमा माग बढ्दा अलैंचीको मुल्य उच्च हुने अर्जुनधारामा रहेको अलैंची प्रशोधन उद्योग एभरेष्ट लार्ज कार्डममका प्रबन्धक अमेरेन्द्र कुमार कर्णले बताउनु भयो । कर्णका अनुसार तेस्राे मुलुककाे बजारकाे अाधारमा मुल्य घटबढ हुने भएकाले अलैंची पनि डलरकाे भाउ जस्ताे भएकाे बताउनु भयाे । याे बर्ष प्रतिमन १ लाख ५ हजार देखि १० हजारसम्म बजारमा अलैंची खरिदबिक्री भइरहेकाे उहाँले बताउनु भयाे ।
चालु आर्थिक बर्षको प्रथम चौमासिकमा १ अर्व ९० करोडको अलैची निर्यात भएको छ । गत आर्थिक बर्षमा यसै अवधिमा २ अर्व १५ करोड मुल्यको अलैंची निर्यात भएको थियो ।