ढेड दशकमा पनि बन्न नसकेको कन्काइ पुलको काम अलपत्र (फाेटाे फिचर)
२४ पुस २०८१/डिकेश लामा
झण्डै ढेड दशक अघि निर्माण थालिएको झापाको हुलाकी सडकमा पर्ने कन्काई नदिको पुलको निर्माण काम अलपत्र परेको छ । कछुवाको गतिमा हिउँदमा पुलको काम हुँदै आएकोमा यो बर्ष देखि काम नै ठप्प बने पछि पुलको काम अलपत्र बनेको हो ।
पुल बन्ला र सहज यात्रा गर्न पाइला भनेर आशाबादी बनेका दक्षिणी झापाका बासिन्दाको सपना पुरा नभइ पुलको काम अलपत्र परेको छ । धेरै वटा निर्वाचनमा पुल बनाउन आशा देखाउँदै भोट मागेका नेताका आश्वासन पुरा हुन नसक्दा जोखिम यात्रा मोलेर हिड्नु पर्ने बाध्यता रहेको स्थानीय बासिन्दाले बताएका छन् । स्थानीय अगुवा इश्वर माझीका अनुसार अघिल्ला बर्षहरूमा हिउँदमा अलि अलि काम हुँदै अाएकाेमा याे बर्ष देखि काम नै राेकिएकाे छ ।
हुलाकी सडकमा पर्ने कन्काइ नदिको पुल निर्माणका लागि २०६८ सालमा ३४ करोड ९ लाख रुपयाँमा ठेक्का लागेको हो । ७ सय २४ मिटर लम्बाईको पुलको निर्माणको काम यसको भारबहन क्षमता जाँच नगरी अगाडी नबढ्ने हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय इटहरीका सव इन्जिनियर अभिषेक राईले बताउनु भयो । राइका अनुसार पुलकाे भारवहन जाँच नगरी काम अगाडि नबढाउनु भने पछि याे बर्ष निर्माण गर्दै अाएकाे महादेव खिम्तीले समेत काम राेकेकाे छ ।
पुसकाे तेस्राे साता पमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले निरीक्षण गरी सम्बन्धित मन्त्रालयमा फोन गर्दा पुलको मापदण्ड नपुगेकाले काम रोकिएको बताइएको छ । उहाँले जतिसक्दो चाँडो पुलको काम सक्न मन्त्रालयमा निर्देशन समेत दिएकाे बताउनु भयाे । यदि पुल निर्माणमा बर्तमान सरकारले चासाे नदिए संसदमा समेत कन्काइ पुलबारे कुरा उठाउने उहाँले गाैरीगंजमा भएकाे भ्रष्टचार विरूद्ध खवरदारी सभामा बताउनु भयाे ।
२०६८ सालमा पप्पु र महादेव खिम्ती जेभीले पुल निर्माण गर्न लिएको ठेक्काको काम अहिले पनि आधा मात्रै भएको छ । पुल नबन्दा बर्षौं देखि हिउँद बाँसको पुल र बर्षातमा डुङ्गाबाट पैसा तिरेर जोखिम यात्रा गर्नु परेको यात्रुहरुले गुनासो पोखेका छन् । अहिले पनि गाैरीगंज गाँउपालिकाले डुङ्गा संचालनकाे नाममा कर असुल्दै अाएकाे यात्रुहरूले बताएका छन् ।