३२ औं संस्करणको ओलम्पिककाे महाकुम्भ शुरू, खेल राेक्न विराेध जारी

८ श्रावण २०७८,टाेकियाे सारासन्देश– विश्व खेलकुदकै महाकुम्भको रुपमा चर्चित ओलम्पिक गेम्सको ३२ औं संस्करणको उद्घाटन भएकाे छ ।  टोकियोस्थित ओलम्पिक रंगशालामा नेपाली समयअनुसार पौने ५ बजे देखि सुरु भएको हाे । आतिसबाजी र जापानी संस्कृति प्रदर्शनसँगै प्रविधिको प्रयोगबाट समारोहलाई भव्य बनाइएको छ । जापानको राष्ट्रिय गानसँगै सुरु भएको उद्घाटन समारोहमा जापानी सांस्कृतिक झाँकी र ओलम्पिकमा आवद्ध खेलसम्बन्धी कला प्रदर्शन भएका छन् ।

यो ओलम्पिकमा २ सय ४ देश र शरणार्थी टिमका १० हजार बढी खेलाडी सहभागी भएका छन् । जापानका सम्राट नारुहितो, प्रधानमन्त्री योसिहिदे सुगा, अमेरिकी प्रथम महिला जिल बाइडेन, अन्तराष्ट्रिय ओलम्पिक कमिटिका अध्यक्ष थोमस बाच तथा विभिन्न राष्ट्रका प्रमुखहरू लगायतले खेलकाे शुरूवातीमा मन्तव्य राखेका छन् । मार्चपासमा नेपालको झण्डा पौडीका खेलाडीद्वय गौरिका सिंह र अलेक्जेन्डर शाहले बोकेका छन् ।  यसपालि नेपालका ५ खेलाडीले चार खेलमा प्रतिस्पर्धा गर्दैछन् । नेपालले पहिलोपल्ट ओलम्पिकमा सन् १९६४ मा सहभागिता जनाएको थियो ।  जुन जापानी राजधानी टोकियोमै भएको थियो । गृष्मकालीन ओलम्पिक ५७ वर्षपछि टोकियो फर्किएको हो । कोरोना भाइरसको महामारीको कारण गत वर्ष सम्भव नभएपछि एक वर्ष ढिला आयोजना गरिएको हो । अगस्ट ८ सम्म सञ्चालन हुने ओलम्पिकमा ३३ खेल समावेश गरिएको छ । औपचारिक उद्घाटन शुक्रबार गरिएपनि विभिन्न खेलका प्रतिस्पर्धा दुई दिनअघि नै सुरु भइसकेको छ । ६८ हजार दर्शक क्षमताको रंगशालामा कोरोनाभाइरसको महामारीको कारण उद्घाटन समारोहमा करिब एक हजार भीआईपीको मात्रै उपस्थिति रहेको छ ।

ओलम्पिक राेक्न विराेध जारी

धेरै अगाडि देखी ओलम्पिक राेक्न माग गर्दै अाएका स्थानीयले अाज पनि विराेध प्रर्दशन जारी राखेका छन् । औपचारिक रुपमा ओलम्पिक सुरु हुँदै गर्दा टोकियोमा कोभिड १९ संक्रमितको संख्याले पनि दिनहुँ उच्च रेकर्ड बनाइरहेको छ । त्यसैले महामारीले तीव्र रुप लिनसक्ने भन्दै स्थानीयबासीले ओलम्पिक आयोजनाको विरोध जनाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपाल आज २९७७ संक्रमित, १६७८ निकाेः १८ जनाकाे मृत्यु
Next post लामाे दुरीका यातायत संचालनमा ल्याइने