दक्षिणी झापाका व्यवसायी भन्छन्ः कर तिर्ने ठाउँ देऊ, सरकारले सुनेन

१ कार्तिक २०८१/डिकेश लामा

कोरोना कहर देखि बन्द भएका झापाका झण्डै एक दर्जन हाराहारीका छोटी भन्सारहरु संचालनमा नआउँदा सेवाग्राहीले राजश्व तिर्न पाएका छैनन् । नाकाहरु संचालन आए पनि छोटी भन्सार कार्यालय नखुल्दा यस अघि संकलन हुने राजश्व त्यतिकै खेर गइरहेको छ । कर संकलनका लागि खोलिएका मुख्य भन्सार माताहतका छोटी भन्सारहरु बन्द हुँदा लामो दुरी पार गरेर कर तिर्न नसकेको भन्दै व्यवसायी कर तिर्ने स्थानको माग गर्दै आएका छन् ।


झापाको दक्षिण पश्चिम भारतको सिमासँग जोडिएको गौरीगञ्ज गाउँपालिकामा रहेको आठमौजा छोटी भन्सार संचालन गर्न व्यवसायीले पटक पटक माग गर्दै आएका छन् । कोरोना कहरसँगै ५ बर्ष देखि भन्सार बन्द हुँदा सो क्षेत्रमा संकलन हुने राजश्व त्यतिकै खेर गईरहेको पालिकाकी अध्यक्ष फुलबती राजवंशीले बताउनु भयो । राजवंशीका अनुसार आफूहरुले संघीय सरकार र सम्बन्धित निकायसँग पटक पटक ध्यानाकर्षण गर्दा समेत कार्यान्वयन हुन नसक्दा सरकारको कर त्यतिकै खेर गईरहेको छ । यस अघि सो छोटी भन्सारबाट मासिक ५० हजार देखि १ लाखसम्म कर संकलन हुँदै आएको थियो । तर अहिले भन्सार संचालन नहुँदा लुकिछिपी सामान ल्याउनु पर्ने बाध्यता सृजना भएको छ । कर तिर्छौं, ठाउँ देऊ सरकार भन्दा समेत सो व्यवस्थापन गर्न नसक्नु संघीय सरकार निकम्बा जस्तै बनेको उहाँले बताउनु भयो ।

आठमौजा छोटी भन्सार २०१६ साल तिर देखि नै घुम्ती राखेर संचालनमा ल्याइएको थियो । तर देशमा ठूल्ठुला परिवर्तन भइसक्दा समेत स्तरोन्नती हुनुको सट्टा भएको छोटी भन्सार नै बन्द हुँदा बजार संचालनमा समेत समस्या भएको गौरीगंज उद्योग बाणिज्य संघका अध्यक्ष मखना महत्तोले बताउनु भयो । महत्तोका अनुसार आफू यस अघि सो क्षेत्रको जनप्रतिनिधि भएको हैसियतले भन्सार कार्यालय नै संचालन गर्न सक्ने गरी जग्गाको समेत व्यवस्थापन भइसकेको छ । तर सरकारले चासो दिएको छैन । भारत तर्फ कष्टम गृह नै निर्माण भइसकेको छ । सरकारले चासो दिएर भन्सार संचालन गर्ने हो भने विकासमा संघीयताको वास्तविक अभ्यास हुने उहाँले बताउनु भयो ।

झापा जिल्लामा मेची र भद्रपुर मुख्य भन्सार माताहत संचालन हुँदै आएका झण्डै एक दर्जन हाराहारीका छोटी भन्सार कोरोना कहर पछि प्रायशःबन्द रहेका छन् । त्यस मध्ये गौरीगंज गाउँपालिकामा दुई वटा रहेका छन् । कुञ्जिबारी भन्सार त अझ माओवादी द्वन्द्वकाल देखि नै बन्द रहेको छ । भन्सार बन्द हुँदा भारतबाट ल्याइएका सामानको भन्सार काट्न लामो दुरी हिड्नु पर्ने समस्याले लुकीछिपी सामान आयात गर्नु पर्ने बाध्यता रहेको स्थानीय बासिन्दाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post चाडबाड नआएकै राम्रोः दशैंले दुःखाउँछ भूटानी शरणार्थीलाई
Next post बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई पक्राउ गर्न पुर्जी जारी