वेमौषमीबाट अन्य तरकारी भन्दा दोब्बर आम्दानीः टनेल खेतीमा झापाली किसानको आकार्षण बढ्दो
१२ भदौ २०७९/डिकेश लामा
कोरोना कहरले खेतीबाट विस्थापित हुने अवस्थामा पुगेका किसानहरु पछिल्लो समय वेमौषमी तरकारीबाली उत्पादनमा लाग्न थालेका छन् । सिजनको बाली भन्दा दोव्बर आम्दानी हुने भए पछि किसानहरुले टनेल निर्माण गरेर धमाधम वेमौषमी तरकारी उत्पादन गरी विक्री गर्दै आएका छन् ।
दुई बर्ष कोरोना कहरले समस्यामा परेका तरकारी खेती गर्ने किसानहरु पछिल्लो समय धमाधम खेतीमा जुट्न थालेका हुन् । बजारमा विगत बर्ष भन्दा राम्रो मुल्य र विक्री हुन थाले पछि वेमौषमी तरकारी खेतीमा किसानहरु आकार्षित भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो । प्रमुख विष्टका अनुसार यस बर्षमात्र जिल्लामा झण्डै दर्जन हाराहारी स्थानमा नयाँ टनेल निर्माण भएका छन् । यस अघि पनि केन्द्र मार्फत धेरै स्थानमा ठूल्ठूला टनेल घर निर्माण गरिएको छ । टनेल बनाएको क्षेत्रमा अधिकांश किसानले वेमौषमी खेती गर्दै आएको उहाँले बताउनु भयो ।
किसानले के गर्दा राम्रो मुल्य लिन सकिन्छ भन्ने कुरालाई किसानले ध्यान दिन थालेका छन् । दशैं तिहारमा काँक्रा तथा अन्य तरकारीको बढी माग हुने भएकाले त्यो सिजनलाई लक्षित गरी खेती गर्ने गरेको दमक नगरपालिकामा बृहतरुपमा टनेल भित्र प्राङगरिक खेती गर्दै आएको मान सरोवर कृषि सहकारी संस्थाका व्यवस्थापक महेन्द्र अधिकारीले बताउनु भयो ।
व्यवसायिकरुपमा खेती गर्ने किसानले चाडबाड लक्षित वेमौषमी तरकारी खेती समेत गर्ने गरेका छन् । सिजनको खेती भन्दा राम्रो आम्दानी लिन सकिने भएकाले यस्ता खेतीलाई जोड दिँने गरेको कमल गाउँपालिका वडा नं. ६ की किसान नर्वदा दवाडीले बताउनु भयो । कमल गाऊँपालिका वडा नं. १ बाह्रविगे कृषि समूहका अधिक किसानहरु वेमौषमी तरकारी बालीमा जुटेका छन् । तर विचौलाका कारण अझै पनि खाटी किसानले मुल्य पाउन नसकेको समूहका अध्यक्ष महानन्द फूँयालले बताउनु भयो ।
झापामा जिल्लामा २ बर्षको अन्तरमा १ हजार हेक्टर क्षेत्रफल तरकारी खेतीको बृद्धि भई झण्डै १० हजार हेक्टर हाराहारीमा खेती हुँदै आएको छ । कोरोना कहरले स्वदेशमै रोजगारी खोज्नेहरुले पछिल्लो समय वेमौषमी तरकारीबालीको विस्तारसँगै राम्रो आम्दानी समेत गर्ने गर्ने गरेको उनीहरुले बताएका छन् ।