५ कार्तिक २०७९/डिकेश लामा

खोला खोल्छीका माछा मारेर जिविकोपार्जन गर्ने आदिवासी समूदायहरु पछिल्लो समय समस्या पर्न थालेका छन् । स्थानीय जातका रैथाने माछाहरु लोप हुँदै गए पछि उनीहरुमा समस्या हुन थालेको हो ।

दक्षिण झापामा बसोवास गर्ने तराई मुलका माझी लगायतका आदिबासी समूदायले खोला–खोल्छी तथा खेतका गह्राहरुमा माछा मारेर जिविकोपार्जन गर्ने पेशा संकटमा पर्दै गएको छ । खेतबारीमा प्रयोग हुने विषादी र लापारवाही विधुतको प्रयोगबाट माछा मार्न थाले पछि रैथाने जातका माछा समेत लोप हु्ँदै गए पछि समस्या भएको बाह्रदशी गाउँपालिका वडा नं. २ का छवि माझीले बताउनु भयो । माझीका अनुसार खेतबारीमा विषादी लगाएकाले पहिले पहिले जस्तो रैथाने जातका अन्धा बाम, कचिया बाम, मागुर, हिले लगायतका स्थानीय रैथाने जातका माछाहरु लोप हुँदै गएको बताउनु भयो ।
पहिले पहिले धेरै मानिसहरु धान पाक्ने वेला भदौ महिना देखि असोज महिनासम्म माछा मार्ने र स्थानीय बजारमा विक्री गर्ने गरेको बाह्रदशी गाउँपालिका वडा नं. १ का पूर्व अध्यक्ष शम्भु राजवंशीले बताउनु भयो ।

तराइमा बसोवास गर्ने कतिपय जातिहरुको मुख्य पेशा नै माछा मार्ने र वेच्ने हो । तर पछिल्लो समय स्थानीय जातका माछा लोप हुँदै गए पछि उनीहरुले पेशा परिवर्तन गर्न थालेका छन् । यस बर्ष देखि प्रदेश सरकारले के कति परिवारहरु माछा मारेरै गुजारा गर्छन् भन्ने विषयमा प्रवर्धन गर्न अध्ययन समेत थालिएको पशुपंक्षी तथा मत्स्य विकास निर्देशानलय प्रदेश नम्बर एककी मत्स्य विकास अधिकृत नेलसन पोखरेलले बताउनु भयो ।

तथापि अझै पनि माछा मारेर गुजारा गर्ने परिवारहरुले पूर्खाको पेशालाई अवलम्बन गर्दै आएका छन् । तर यथेष्ट माछा पाउन नसक्दा उनीहरुलाई जिविकोपार्जनमा समस्या हुँदै गएको छ । केही बर्ष अघिसम्म धानका खेत गरामा समेत प्रसस्त पाइने माछाहरु विस्तारै लोप हुँदै गएका छन् । विषादीको प्रयोग र अवैध ढंगले माछा मार्ने तरिकालाई रोक्ने हो भने रैथाने माछाको संरक्षणसँगै पर्यावरणमा समेत राम्रो हुने जानकारहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *