सामाजिक संजालबाटै कृषिमा सफलताः यूवा पुस्ता कृषि पेशामा आकार्षित हुँदै (फाेटाे फिचर)
१५ पुस २०७९/डिकेश लामा
विदेशबाट फर्किएका युवाहरुले स्वदेशमै के गर्ने भन्ने कुरा अहिले अरुलाई बुझ्ने भन्दा पनि सामाजिक संजालमा खोजी गर्ने गर्दछन् । झापाका धेरै यूवाहरु सामाजिक संजालकै प्रयोगबाट फरक र आम्दानी दिने खालको खेतीमा लागेका छन् । दक्षिणी भूभाग गौरादह ७ का मिलन तामाङ १२ बर्ष विदेश बस्नु भयो । विदेशबाट फर्किएर गाउँघरमा आए पछि के गर्ने भन्ने उहाँलाई चिन्ता भयो । तर यूट्युव हेर्दै जाँदा उहाँलाई ड्राइगन खेतीले आकार्षण गर्यो । सामाजिक संजाल यूट्युबमा हेरेर ड्राइगन खेती थालेका तामाङले अहिले व्यवसायिकरुपमा खेती गर्न थाल्नु भयो । घरबाटै उहाँले ५ सय रुपयाँ प्रति केजी ड्राइगन फल विक्री हुने गरेको छ । एउटा बोटमा ४० केजीसम्म फल्न सक्ने क्षमता भएकाले प्रति केजी २ सय रुपयाँमा विक्री भयो भने पनि ड्राइगन फल खेतीबाट राम्रो आम्दानी लिन सकिने उहाँले बताउनु भयो ।
तामाङ त एउटा युवा किसानको उदाहरण मात्र हुन् । उहाँ जस्तै धेरै किसानहरु पछिल्लो समय फरक र छिटो आम्दानी दिने खेतीमा सामाजिक संजाल अर्थात डिजिटल माध्यमकै प्रयोगबाट खेतीमा लागेका छन् । यस्तै यूट्युव हेरेर नै कमल गाउँपालिका वडा नं. ४ का इन्द्रकुमार श्रेष्ठले झापामा पहिलो पटक व्यावसायिकरुपमा एप्पल वेरी अर्थात विकासे बयर खेती थाल्नु भएको छ । श्रेष्ठका अनुसार जिल्लामा पहिलो पटक व्यवसायिकरुपमा थालेको खेतीले राम्रै आम्दानी दिने आशा गर्नु भएको छ । खेती लगाएको पहिलो बर्षमै फल्न थाले पछि बयरबाट आम्दानी लिन सकिने उहाँले बताउनु भयो ।
लामो लकडाउनले गर्दा खासगरी यूवाहरु कृषि क्षेत्रमा प्रवेश गरेका छन् । जसले गर्दा इन्टरनेट र यसको उपयोगलाई कृषि क्षेत्रमा समेत लगाउन थालेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो । विष्टका अनुसार झापामा पछिल्लो समय यूवा बर्गले छिटो र राम्रो आम्दानी दिने खालको खेती तर्फ आकार्षण बढ्दै गएको छ । अघिल्लो बर्ष सरकारले अनुदान दिए पछि थप खेती विस्तार भएको उहाँले बताउनु भयो ।
सामाजिक संजालको प्रयोग बढ्दै जाँदा समाजमा कतिपयले दुःख समेत पाएका छन् । संजालको प्रयोग गर्न नजान्दा झेल जिवन समेत विताउनु परेको छ । तर सहि तरिकाले प्रयोग गर्दा संजालकै सदुपयोगबाट नमूना कार्य समेत गर्न थालेको संजालको प्रयोगबाट कृषि क्षेत्रमा लागेका युवाहरुको भनाइ छ ।