आर्थिक तरलताले प्राङगरिक खेती खस्किँदैः नमूना खेती बाँझाेमा परिणत (फाेटाे फिचर)
२७ साउन २०८०/डिकेश लामा
झापाको दमकमा संचालित मान सरोबर कृषि सहकारी संस्थामा सरकारको अनुदान सहित ५ करोड भन्दा धेरै लगानीको पूर्वाधार निर्माण भएको छ । तर पछिल्लो समय नमूनाको रुपमा थालिएको अर्गानिक खेती बाँझिन थालेको छ । समितिका जिम्मेवार पदाधिकारीको कम्जोरी हो या बर्तमान आर्थिक तरलताले हो आफूहरुलाई केही पनि थाहा नभएको सहकारी खेतीका शेयर सदस्य यामनाथ अधिकारीले बताउनु भयो ।दुई बर्ष अघि यी टनेलहरुमा वेमौषमी तरकारी उत्पादन गरेर मनग्ये आम्दानी भएको थियो । तर यो बर्ष १४ वटा टनेल अधिकांश बाँझै छन् । संस्थाका जिम्मेवार पदाधिकारी र राज्यले उचित चासो नदिँदा नगरकै नमूना खेती सुस्ताउन थालेको सेयर सदस्य समेत रहनु भएकी किसान रुपा पोखरेलले बताउनु भयो । पोखरेलका अनुसार गत बर्ष यस वेला टनेल हराभरा थियो । वेमौषमी बोडी, रायो साग, करेला, काँक्रा, लौकाबाट मनग्ये आम्दानी भएको थियो । तर यो बर्ष त्यत्रो लगानी गरेर बनाएको टनेल बाँझै रहँदा दुःख लागेको उहाँले बताउनु भयो ।
संस्थाका अध्यक्ष विश्व बरालले जिल्ला समन्वय समितिको जिम्मेवारी सम्हाले पछि संस्थामा समय दिन भने जस्तो सहज भएको छैन । यस्तै बजारको आर्थिक तरलता र वैंक वितीय संस्थाबाट खेती गर्ने ऋण समेत नपाएकाले खेतीमा समस्या आएको संस्थाका सचिव ठाकुरप्रसाद लुईटेलले बताउनु भयो । लुईंटेलका अनुसार साना कृषि सहकारी संस्था तथा अन्य राष्ट्रिय बैंकले समेत ऋण दिने भनेर दिन तयारी गरेको अवस्थामा बजेट नभएको भन्दै रोके पछि खेती विस्तारमा समस्या आएको हो । अन्य वितीय सहकारी जस्तो आफूहरु समस्यामा नरहे पनि थालेको खेती गर्ने कर्मचारी पाल्न भने समस्या रहेको उहाँले बताउनु भयो । अधिकारी अनुसार पछिल्लाे समय बसेकाे वैठकले अव चाँडै व्यवस्थापन गरेर जाने तयारी थालेकाे बताउनु भयाे ।
अर्गानिक कृषि बस्तुहरु रासायनिक उत्पादन भन्दा धेरै लगानी हुन्छ । तर अर्गानिक तरकारीबालीको छुट्टै मुल्य र बजार नहुँदा खेतीमा घाटा लाग्दै गए पछि पछिल्लो समय खेती खस्किँदै गएको संस्थाका व्यवस्थापक महेन्द्र अधिकारीले बताउनु भयो । अधिकारीका अनुसार रासायनिक बस्तुको बजारसँग प्रतिष्पर्धा गर्न नसकेका कारण पनि अर्गानिक खेतीबाट विस्थापित हुने अवस्था आएको बताउनु भयो ।
अघिल्लो सरकारले झापा इलाम, मोरङ र पाँचथरमा समेत अर्गानिक उत्पादन गरी दमकलाई संकलन केन्द्रको रुपमा विकास गर्ने ध्येयले बजार निर्माण देखि अर्गानिक उत्पादनमा समेत ३ करोड भन्दा धेरै लगानी गरिसकेको छ । तर पछिल्लो समय खेतीमा लागेका किसान तथा कृषि सहकारी संस्थाहरु नै विस्थापित हुने अवस्थाले प्राङगरिक खेतीलाई सफल बनाउन चुनौती बढ्दै गएको किसानको भनाइ छ ।
कृषि व्यवसाय अरू भन्दा फरक छ । हलो जोताएर, खेतालालाई रोपाएर अब हुन्न । आफै पनि जोतिनु सक्नुपर्छ । यस नमूना कृषि फार्मले क़र्ज़ा त पाएन पाएन, अनुदान भने पाएको भन्ने कुरा छ । त्यो भने आएन । अब यसलाई सदस्यहरू मध्ये एक कृषक समूह बनाई बार्षिक आम्दानी बुझाउने गरी व्यवस्था मिलाउनु उचित हुनेछ । कृषि भौतिकपूर्बाधार यसै खेर जान दिनु अनुदानको पनि क्षति हो त्यो राज्यको ढिकुटिको हो । कृषि अभियानलाई थप क्षति नपुगोस ।