औषधी र जनशक्तिको अभावले पार्देशिक आयुर्वेदिक अस्पताल संचालनमा समस्या
२२ मंसिर २०८०/सारासन्देश समाचार (झापा)
झापाको कमलमा रहेको कोशी प्रादेशिक अस्पतालमा औषधी र जनशक्तिको अभावले समस्या भएको छ । ५० वेडको अस्पतालमा जनशक्ति नभएकाले अहिले सामन्य ओपीडी र पंचकर्मका सेवा मात्र संचालनमा रहेका छन् । बार्षिक झण्डै १ करोड १९ लाखको औषधी चाहिने अस्पतालमा अहिलेसम्म औषधीका लागि बजेट विनियोजन नहुँदा समस्या भएको अस्पतालका निमित्त निर्देशक डा.शिद्धार्थकुमार ठाकुरले बताउनु भयो । ठाकुरका अनुसार अस्पतालमा आउने विरामीको सुविधाका लागि आवश्यक सेवा सुचारु गर्न जनशक्तिको अभावले समस्या भएको छ । न्यूनतम सेवा संचालनका लागि बोर्डमा ४७ जना दरबन्दी पुर्याउन माग गरिएको छ । तर त्यसको कार्यन्वयन भने भइनसकेको उहाँले बताउनु भयो ।
एक बर्ष अघि देखि संचालनमा ल्याइएको अस्पतालको सेवा बढाउन आज एक पत्रकार सम्मेलन गर्दै अस्पतालले आगामी मंसिर २५ र २६ गते भिडियो एक्सरे देखि अन्य परिक्षण समेत निशुल्क गरी विशेषज्ञ टोलीका साथ शिविर संचालन गर्ने जानकारी दिइएको छ । गाउँघरका विरामीलाई यस्तो सेवा समेत हुने जानकारी दिन क्षारसुत्रबाट उपाचार गर्ने गरी विशेषज्ञ शिविर संचालन गर्ने तयारी थालिएको पत्रकार सम्मेलनमा डा. ठाकुरले बताउनु भयो ।
आयुर्वेदिक उपचारमा हरेक प्रदेशमा एउटा अस्पताल संचालन थालेको सरकारले कोशी प्रदेशको अस्पताल कमल गाउँपालिका वडा नं. ६ मा झण्डै २३ करोड लगानीमा १ सय ५६ कोठाको ठूलो भौतिक संरचना निर्माण गरी हाल १९ जना दरबन्दीमा स्वास्थ्य सेवा शुरु गरेको छ । तर पूर्ण रुपमा अस्पताल संचालनका लागि १ सय ३५ जना जनशक्तिको आवश्यकता हुने अस्पतालका व्यवस्थापक कविराज निरीक्षक वेदप्रसाद शर्माले जानकारी दिनु भयो । शर्माका अनुसार अहिले पनि दैनिक ८० जनाका दरले विरामी आउने गरेका छन् । आयुर्वेदिक पद्धतिबाट उपचार गर्नेहरु कोशी प्रदेशका ठूल्ठुला अस्पतालमा निको नभएकाहरु समेत आएर उपचार पछि निको भएको उहाँले बताउनु भयो ।
आयुर्वेदिक उपचारमा क्षार सुत्र र पंचकर्म निकै प्रभावकारी भएको उहाँले जानकारी दिनु भयो ।