सशस्त्र प्रहरीले एक बर्षमा १३ करोड बढीको अवैध सामान भन्सार दाखिला
६ फाल्गुण २०८०/झापा
भारतबाट लुकीछिपी भन्सार छलेर ल्याउँदै गरेको सामान नियन्त्रणमा लिइएका १३ करोड ८२ लाख मुल्यको सामान भन्सार दाखिला भएको छ । एक बर्षको अवधिमा विभिन्न नाका र खुल्ला सिमानाबाट लुकिछिपी ल्याउँदै गरेका सामान नियन्त्रणमा लिई भन्सार दाखिला गरिएको शसस्त्र प्रहरी बल नेपाल गण नं. २ झापाका गणपति सशस्त्र प्रहरी उपरिक्षक देवराज अर्यालले जानकारी दिनु भयो ।
गणपति परिवर्तन हुने समयको अवसर पारेर शनिबार पत्रकारसँग गरिएको कुराकानीमा गणपति अर्यालले आफ्नो १ बर्षे कार्यकालमा झापामा सिमास्तम्भ मर्मत संभार, बोर्डर आउट पोष्ट स्थापना र दशगजा क्षेत्र व्यवस्थापन लगायतका केही महत्वपूर्ण काम समेत भएको बताउनु भएको छ । उहाँका अनुसार यो बर्ष ३ सय १७ वटा नेपाल तर्फको विजोर सिमा स्तम्भ र भारत तर्फ जोर नम्बरका १ सय ४८ वटा स्तम्भ रंगरोगन र मर्मत गरिएको छ । यस्तै बाढी तथा खोला नदि कटानबाट हराइएका ७ वटा स्तम्भ फेला समेत पारिएको बताउनु भयो ।
१ सय ४४ किलो मिटर खुल्ला सिमाना रहेको क्षेत्रमा सुरक्षा गर्न निक्कै चुनौती समेत रहेको उहाँले बताउनु भयो । खासगरी खुल्ला सिमाबाट अवैध लागु औषध, भन्सार छली ल्याइने मेशिनरी, हार्डवयर र घरायसी सामान धेरै नियन्त्रण लिने गरेको उहाँले बताउनु भयो ।
गण नं. २ मा अर्यालको स्थानमा आउनु भएका नयाँ गणपति कविन्द्र राईलाई स्वागत सम्मान समेत गरिएको छ । यस बर्ष कोशी प्रदेशमा उत्कृष्ट गणको रुपमा ‘आइजी एपीएफ कमण्डेशन अवार्ड’ बाट गण नं. २ झापा सम्मानित समेत भएको छ ।