८ खर्बकाे आयात हुँदा ८६ अर्वकाे मात्र निर्यातः सात महिनामा ८ खर्ब व्यापार घाटा

९ फाल्गुण २०८०, काठमाडौँ– चालु आर्थिक वर्ष २०८०/८१ को सुरुआती सात महिना अवधिमा मुलुकले कुल ९ खर्ब ८४ अर्ब ७७ करोडको वैदेशिक व्यापार गर्दा ८ खर्ब ११ अर्ब ११ करोड बराबरको घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिना अवधिको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार माघ मसान्तसम्ममा ८ खर्ब ९७ अर्ब ९४ करोड ३९ लाख बराबरको आयात भएको छ भने रु ८६ अर्ब ८३ करोड ९ लाख १२ हजार बराबरको मात्रै निर्यात भएको छ ।
गत आर्थिक वर्षको सुरुआती सात महिना अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात २ दशमलव ३१ निर्यात सात दशमलव ०७ प्रतिशतले घटेको छ । गत वर्षको तुलनामा समग्र व्यापार घाटा २ दशमलव ७५ प्रतिशतले घट्दा व्यापार घाटा पनि एक दशमलव ७७ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ । नेपालले सबैभन्दा ठूलो वैदेशिक व्यापार गर्ने मुलुक भारत हो । भारतसँग रु पाँच खर्ब ५४ अर्ब ७५ करोड ८८ लाखको आयात गर्दा रु ५८ अर्ब ७२ करोड २७ लाखको मात्रै निर्यात भएको छ । अर्थात् चालु आर्थिक वर्षको सात महिना अवधिमा भारतसँग मात्र नेपालले रु चार खर्ब ९६ अर्ब तीन करोड ६० लाख व्यापारघाटा व्यहोरेको छ ।
त्यस्तै, दोस्रो ठूलो वैदेशिक व्यापार रहेको मुलुक चीनसँग नेपालले रु एक खर्ब ७१ अर्ब २३ करोड ६३ लाख बराबर व्यापार घाटा व्यहोरेको छ । माघ मसान्तसम्ममा चीनबाट रु एक खर्ब ७३ अर्ब नौ करोड ११ लाख बराबरको मालवस्तु आयात हुँदा रु एक अर्ब ८५ करोड ४८ लाख बराबरको निर्यात भएको छ । त्यस्तै, नेपालले उच्च व्यापार घाटा व्यहोर्ने मुलुकको सूचीमा तेस्रो नम्बरमा संयुक्त अरब इमिरेट्स रहेको छ । चालु आवको सात महिना अवधिमा संयुक्त अरब इमिरेट्ससँग रु १५ अर्ब ६९ करोड ५४ लाखको आयात र रु एक अर्ब ५८ करोड ३३ लाख बराबरको निर्यात भएको छ । यो मुलुकसँगको व्यापार घाटा रु १४ अर्ब ११ करोड २० लाख छ ।
नेपालले वैदेशिक व्यापार गर्ने मुलुकहरुमध्ये सबैभन्दा बढी व्यापार नाफा संयुक्त राज्य अमेरिकासँग रहेको छ । सात महिना अवधिमा अमेरिकाबाट ९ अर्ब १७ करोड ५८ लाख बराबरको वस्तु आयात हुँदा नेपालबाट रु नौ अर्ब ५४ करोड छ लाख बराबरको निर्यात भएको छ । अर्थात् समीक्षा अवधिमा अमेरिकासँगको नेपालको व्यापार नाफा रु ३६ करोड ४७ लाख बराबर छ । डेनमार्क, नर्वे, अफगानस्तान, माल्दिभ्सलगायत मुलुकसँग पनि नेपालको व्यापार नाफामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बैंकमा निक्षेप सुरक्षित भएकाले हल्लाकाे पछि नलागी ढुक्क भएर कारोवार गर्न राष्ट्र बैंककाे आग्रह
Next post काठमाण्डाैंमा ३ जना सामुहिक हत्यासँगै आत्महत्या