झापामा एक साता भित्र आगलागीबाट झण्डै १६ करोडको क्षतिः दमकमा पनि फर्निचर उद्याेगमा आगलागी

४ चैत्र २०८०/झापा
झापामा एक साताभित्र भएको आगलागीबाट झण्डै १६ करोड मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । जिल्लामा गएको फाल्गुण २६ गते यता १६ वटा आगलागीका घटना भएका छन् ।
जिल्लामा सवै भन्दा ठूलो आगलागी मेचिनगर नगरपालिका वडा नं. १५ को भगवती प्लाइ उद्योगमा भएको थियो । उद्योगमा लागेको आगो नियन्त्रण गर्न मात्र झण्डै २४ घण्टा समय लागेको थियो भने उद्योगमा १५ करोड ३२ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उद्योगमा आगलागी हुँदा झण्डै १ हजार कर्मचारी प्रभावित भएका छन् ।
यस्तै जिल्लाको कन्काइ, शिवसताक्षी, भद्रपुर, झापा, हल्दिबारी, गौरीगंज र दमकमा गरी १६ वटा आगलागीका घटना एक साता भित्र भएका छन् ।

आइतबार साँझ साढे ७ बजे दमक नगरपालिका वडा नं. ८ मा रहेको क्रिष्टल फर्निचर उद्योगमा आगलागी भएको छ । आगलागीमा झण्डै ४ लाख बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
साँझ उद्योग बन्द गरेर घर गए पछि एक्कासी आगलागी हुँदा विधुत सर्ट भएर लागेको हुन सक्ने फर्निचरका संचालक महम्मद शाकिर हुसेनले बताउनु भयो । हुसेनका अनुसार १५ लाख बरावरको फर्निचरका बनाइएको सामान बाहिर झिकिए पनि आगलागीमा भने १० लाखको क्षति भएको दाबी गरेका छन् । उहाँका अनुसार प्लाइ र काठका सामान बनाउने अाैजारहरू जलेका छन् ।
सुख्खा मौषमका आगलागीको घटना अधिक बढेकाले सवैले सचेत भएर आगोजन्य बस्तुको प्रयोग प्रयोजनमा ध्यान दिन प्रहरीले आग्रह गरेको छ । पछिल्लाे समय जंगलमा समेत आगलागीका घटना भइरहेका छन् । यस तर्फ स्थानीय बन र सरकारले समेत चासाे नदिँदा जंगलकाे आगाे बस्ती पसेर घर जल्ने गरेका घटना काेशी प्रदेशमा बढ्दै गएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापाको कन्काइ सिंचाइको अतिक्रमित जग्गा जोगाउने प्रयास थालिँदै
Next post दलित महिला लक्षित नेतृत्व विकास तालिम सम्पन्न