औधोगिक क्षेत्रमा अवलोकन शुरुः चाइना नेपाल फ्रेण्डशीप औधोगिक पार्क बन्ला त ?

३० चैत्र २०८०/डिकेश लामा

३ बर्ष अघि सिल्यान्यास भएको नेपालको ठूलो र महत्वकांक्षी योजनाको रुपमा हेरिएको चाइना नेपाल फ्रेण्डशीप औधोगिक पार्क निर्माणका लागि चासो दिन थालिएको छ । केही दिन यता औधोगिक क्षेत्र व्यवास्थापन लिमिटेडका जिम्मेवार पदाधिकारीसहितले स्थानीय क्षेत्रमा काम शुरु गर्न परामर्श थालेका छन् ।

२०७७ साल फाल्गुन महिनाको १६ गते तत्कालिन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्कको शिल्यान्यास गर्दै ५ बर्षमा भौतिक पूर्वाधार निर्माण गरी सक्ने बताउनु भएको थियो । जब एमाले सत्ताबाट बाहिरिएसँगै औधोगिक पार्क बनाउने कार्य सुस्तायो । तर पार्टी सत्ता नभएकै कारण काम ढिलाई नभइ निरन्तर प्रयास भइरहेको औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्तले बताउनु भयो । पन्तका अनुसार आफू काँग्रेस माओवादीको गठबन्धनबाट लिमिटेडमा चयन भएकाले सरकारले त्यसरी अर्को सरकारले थालेको योजना भनेर नहेर्ने गरे जस्तो आफूलाई नलागेको बताउनु भयो । उहाँका अनुसार अव भने पार्क बनाउने कुरामा आफूहरु लागि परेको बताउनु भयो । आगामी दुई बर्ष पछि फिल्डमै भौतिक पूर्वाधारको काम थाल्ने गरी योजना अघि बढिरहेको उहाँले बताउनु भयो ।

पहिलो चरणमा ६४ अर्व लगानी गर्न सकिने लगानी बोर्डले स्वीकृत गरेको नेपाल चाइना औधोगिक पार्क निर्माण योजना कोरोना कहरले पनि केही प्रभावित भयो । केही दिन अघि मात्र औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडबाट जिल्लामा जिम्मेवार निकायसँग छलफल तथा परामर्श भएको छ । खासगरी पार्कको नाममा आएको जग्गा, नदि लगायतका क्षेत्र छुट्याएर कुन क्षेत्रबाट काम थाल्दा सहज हुन्छ भन्ने कुरा हेर्न आफू काठमाण्डौंबाट आएको पन्तले बताउनु भयो ।

नेपालकै अहिलेसम्मको ठूलो र गौरबशाली योजनाको रुपमा हेरिएको पार्क निर्माणका लागि २ हजार १ सय विगाह जग्गा पुर्याउने गरी अधिग्रहणको काम ५ बर्ष अघि देखि थालिएको हो । हालसम्म मुआब्जा र सरकारी सहित झण्डै साढे १३ सय विगाह जमिन पार्कको नाममा आएको छ । तर यता लामो समय पार्क निर्माणमा चहल पहल नदेख्दा स्थानीय बासिन्दा भने अल्मलमा परेका छन् । स्थानीय बासिन्दालाई योजना निर्माण ढिलाई भएकाले कतै पार्क नै नबन्ने पो हो कि भन्ने लाग्न थालेको दमक वडा नं. १० का पार्क नजिक क्षेत्रका बासिन्दा रुद्र अधिकारीले बताउनु भयो । अधिकारीका अनुसार सरकारले निकै महत्व दिएर काम होला भन्ने लागेको थियो । तर सरकारबाट बाहिरिएसँगै काममा ढिलाई भएको छ । पुनः सरकारमा एमाले समाहित भएकाले अव भने पार्क निर्माणको कामले तिव्रता पाउलाकि भन्ने आशा पलाएको उहाँले बताउनु भयो ।

चाइना सरकारको अरवौैं रुपयाँ लगानी हुने भनिएको नेपालको औधोगिक क्षेत्रमा पहिलो सार्वजनिक निजी साझेदारी पीपीपी मोडलको योजना अनुसार विभिन्न प्रकारका उधोगधन्दा संचालन गरिने योजना छ । तर एउटा पार्टी सरकारमा हुँदा अर्को पार्टीले थालेका योजनामा चासो नदिने गर्नाले देश विकासका ठूल्ठुला योजना निर्माणमा ढिलाई भएको स्थानीय अगुवाहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा यस बर्ष तोरी खेती र उत्पादनमा बृद्धि (फाेटाे फिचर)
Next post राैतहटमा ११ लाख नगद सहित एकजना पक्राउ