शरणार्थी बस्तीमा खानेपानी वितरणले सहजः अमेरिका पुगेका यूवाहरुको समूहबाट ५० लाख रुपयाँ सहयोग प्रदान

१४ भदौ २०८१/डिकेश लामा

खानेपानीको समस्या भोग्दै आएका भुटानी शरणार्थी र स्थानीय बस्तीमा तेस्रो मुलुक पुगेका नेपाली भाषी भुटानी युवाहरुको संस्थाले ५० लाख रुपयाँ सहयोग गरेका छन् । पानीको अभावमा शरणार्थी शिविरमा पानी दिन नसकिरहेको अवस्थामा सहयोगले निर्माण गरेको भूमिगत बोरिङ्ग प्रणालीले सवैतिर खानेपानीमा सहज भएको छ ।

६ बर्ष अघि देखि शरणार्थी दातृ निकायले शरणार्थीलाई दिने सहयोग कटौती गरे पछि समस्यामा परेका भुटानी शरणार्थीलाई तेस्रो मुलुक पुगेका भूटानी अमेरिकीहरुबाट सहयोग हुन थालेको छ । अमेरिका पुगेका युवाहरुको संस्था सिजल एण्ड सिस्टर्स फाउण्टेशन र टिकटिक युथ ग्रुपले ५० लाख र स्थानीय सरकार र खानेपानी संस्था सहित झण्डै एक करोड बजेटमा भूमिगत बोरिङ प्रणालीबाट खानेपानी संचालन गर्न सफल भएको शरणार्थी बस्ती व्यवस्थापन समितिका सचिव सन्चहाङ्ग सुब्बाले बताउनु भयो । सुब्बाका अनुसार अव नेपाल सरकार माताहत संचालित संस्थाले नै उनीहरुले उपयोग गरेको मुल्यमै खानेपानी दिने भए पछि सँधैका लागि शुद्ध खानेपानीको समस्या हट्छ भन्ने विश्वास रहेको उहाँले बताउनु भयो ।

संस्थाका प्रमुख कार्यकारी अधिकारी मेग सुवेदी सहितको टोलीले उदघाटन गरी शुक्रबारबाट पानी संचालन गर्ने कार्यको थालनी गरिएको छ । दैनिक आवश्यक पर्ने खानेपानीको अभाव भोग्न बाध्य भुटानी शरणार्थी र नजिकैको बस्तीलाई समेत सहयोग होस् भन्ने हेतुले खानेपानीमा सहयोग गरेको सुवेदीले बताउनु भएको छ । उहाँले आफ्नो सामाजिक सेवा गर्ने भावना पहिलो पटक आफ्नो छोरी सिजलको प्रश्नले प्रभावित भएर सामाजिक सेवामा लागेको उहाँले बताउनु भयो । यस्तै खानेपानी पथरी शिविरमा समेत संचालन गरिएको उहाँले बताउनु भयो ।

उदघाटन कार्यक्रममा बाेल्दै दमक नगरपालिका वडा नं. ३ का अध्यक्ष नविन बरालले याे सहयाेगले पानी पिउन मात्र सहज नभइ समूदाय र शरणार्थीबीचकाे ३ दशक देखिकाे सम्बन्ध र नातालाइ थप प्रगाढ बनाएकाे बताउनु भयाे ।

यस्तै खानेपानीका उपाध्यक्ष तारामान भूजेलले भूटानीसँगकाे सम्बन्ध पहिले देखि नै सुमधुर रहेकाले तेस्राे मुलुक पुगेका भुटानी अमेरिकी युुवाले गरेकाे महत्वपूर्ण सहयाेगले पानीकाे अभावमा काकाकुल हुनु पर्ने अवस्था अन्त्य भएकाे बताउनु भयाे । खानेपानीको समस्याले गर्दा लामो दुरीबाट पानी संकलन गर्नु पर्ने बाध्यताले खासगरी एकल, बृद्धबृद्धा र असक्तलाई शरणार्थी बस्तीमा समस्या हुने गरेको थियो । घर–घरमा धारा जडान हुने गरी शुद्ध खानेपानी संचालनमा आए पछि शरणार्थी बस्तीका बासिन्दा खुशी बनेका छन् ।

नेपाल सरकार, शरणार्थी दातृ निकाय र सहयोगी दाता सहित हालसम्म दुम्से खानेपानीमा ६ करोड रुपयाँ बढी खर्च भइसकेको छ । खोलाको पानी फिल्टर प्रणालीबाट खानेपानी संचालन गर्दा समस्या भोग्दै आएको स्थानीयलाई भूमिगत खानेपानीले ठूलो राहत पुगेको उनीहरुको भनाइ छ ।

भिडियाे स्टाेरी हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post चिया मजदुरमाझ निशुल्क आयुर्वेद उपचार सेवा शुरू
Next post चिया श्रमिकलाई नि:शुल्क आयुर्वेदिक उपचार