देउवाले लिए प्रधानमन्त्रीमा सपथ, अन्य ४ मन्त्रीले पनि लिए सपथ

२९ असार २०७८,काठमाडौं– नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार राति ८ बजेपछि प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनुभएको हो । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु, संवैधानिक निकायका प्रमुखलगायतको उपस्थिति थियो । शपथ समारोहमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित हुनुभएन । संवैधानिक इजलासको फैसला अनुसार राष्ट्रपति भण्डारीले कांग्रेस संसदीय दलका नेता देउवालाई मंगलबार नै प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियो । सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । प्रतिनिधि सभाको दोस्रो ठूलो दल कांग्रेस संसदीय दलका नेता देउवा पाँचौ कार्यकाल प्रधानमन्त्री हुनुभएको हो ।

यसैगरी मंगलबार नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवासँगै चारजना मन्त्रीले पनि पद तथा गोपनियताको सपथ लिएका छन् । प्रधानमन्त्री देउवाले शपथ लिएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मन्त्रीहरूले शपथ लिएका हुन्। शपथ लिनेमा कांग्रेसका बालकृष्ण खाँण गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा संसदीय मामिलामन्त्री छन् । यस्तै, माओवादी केन्द्रबाट पम्फा भुसालले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा र जनार्दन शर्माले अर्थमन्त्रीको शपथ लिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २३९८ संक्रमित २०९८ निकाे, १२ जनाकाे मृत्यु
Next post खोप खरिदका लागि ५ अर्बको सहमति प्रदानः आगामी चैत्र मसान्तसम्म सवैलाई खाेप लगाइने