हुलाकी सडक निर्माण तिव्र तर पुल नबन्दा समस्या (फाेटाे फिचर सहित)


२७ कार्तिक २०७८/डिकेश लामा

बहुप्रतिक्षित हुलाकी सडक अन्तर्गत झापाको केही विवादित क्षेत्रमा समेत पछिल्लो समय धमाधम काम हुन थालेका छन् । तर सडक धमाधम बने पनि पुलहरु नबन्दा भने सडक संचालनमा समस्या भएको छ । लामो समय विवादले निर्माणमा समस्या भएको झापाको हुलाकी सडक खण्ड अन्तर्गत झापा र गौरीगंज बजार क्षेत्रमा धमाधम निर्माण कार्य भइरहेको छ । अन्य भूभागमा कालोपत्रे भईसक्दा झण्डै ३ किलो मिटर क्षेत्र विवादले रोकिएको भए पनि हालै आएर निर्माण भईरहेको हुलाकी सडक निर्देशनालय योजना प्रमुख दिपेन्द्र पाण्डेयले बताउनु भयो । पाण्डेयका अनुसार झापाको बजार क्षेत्रमा खानेपानीले ल्याएको समस्या समेत हटेकोले निर्माण कार्य भइरहेको बताउनु भयो । यस्तै यता गौरीगंज बजार क्षेत्रमा समेत धमाधम काम भइरहेको छ ।

गौरीगंज क्षेत्रमा १० किलो मिटर सडक आसपायल प्रविधिमा कालोपत्रे भइसकेको छ । सडक निर्माण तिव्र भए पनि केही पुल निर्माणको काम ढिला हुँदा सडक संचालनमा समस्या रहेको गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताउनु भयो । श्रेष्ठका अनुसार बाटोको काम मोतिदान निर्माण कम्पनिले चाँडो र राम्रो गरेको भए पनि पुल निर्माणमा ढिलाई हुँदा सडक संचालनमा नै समस्या भएको छ । गौरीगंज क्षेत्रमा मात्र हुलाकी सडक अन्तर्गत ६ वटा पुलहरु पर्दछन् । जस मध्ये मुख्य कन्काई नदिको पुल निर्माण थालेको १ दशक नाघी सक्दा समेत निर्माण नहुँदा हुलाकी सडक निर्माण भएर पनि संचालन आउन नसक्ने अवस्था रहेको स्थानीय बासिन्दा इश्वर माझीले बताउनु भयो ।


बजारको मुख्य क्षेत्रमा ४ ल्याण्डको सडक बन्ने हुँदा केही घर भत्कने वा हटाउनु पर्ने अवस्थाले विवाद सृजना भएको थियो । विवाद मिले पछि हालै आएर धमाधम सडक बन्न थालेकाले चाँडै कालोपत्रे सडकमा हिड्न पाईने आशा पलाएको स्थानीयले बताएका छन् । विवादित स्थान बाहेक झापाको माइ पश्चिम र रतुवा पूर्वको १४ नम्बर प्याकेजको झण्डै ९० प्रतिशत सडक कालोपत्रे भईसकेको छ । सडक निर्माण गरे पनि पुलहरु समयमा नबन्दा अझै पनि समस्या भोग्नु परेकाले चाँडै पुल निर्माण गर्न स्थानीय माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २४३ संक्रमित, ४७८ निकाेः २ जनाकाे मृत्यु
Next post नेपालमा आज ३०६ संक्रमित, ३४८ निकाेः ६ जनाकाे मृत्यु