जिल्लामा पहिलो किसानको बजार गौरादहमा उद्घाटन (फाेटाे फिचर सहित)
१२ पौष २०७८/डिकेश लामा
झापा जिल्लामा पहिलो पटक किसानको बजार उद्घाटन गरिएको छ । ५ वटा साना कृषि सहकारीको संयोजनमा नेपाल कृषि सहकारी संघको सहयोगमा झापाको गौरादहमा आज औपचारिक कार्याक्रमबीच कृषि बजारको उद्घाटन गरिएको छ । बजार खुले पछि विच्यौलाको मार खेप्नु परेको किसानले अव उत्पादन गरेको कृषि उपार्जन सिधै बजारमा विक्री गर्न पाउने भएका छन् ।
२० लाख हाराहारी खर्चमा निर्माण गरिएको बजारमा किसानले उत्पादन गरेका अर्गानिक उन्मुख बस्तुहरु विक्री गरिने महारानीझोडा साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष मिना कुमारी ढकालले बताउनु भयो । कार्याक्रमा प्रमुख अतिथि रहनु भएका नेपाल कृषि सहकारी केन्द्रिय संघ साना किसान लघु वित्त वित्तीय संस्थाका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका संचालक सदस्य खेमबहादुर पाठकले स्थानीय र प्रदेश सरकारले प्रोत्साहन विदेश जाने यूवा शक्तिलाई स्वदेशमै काम गर्ने वातावरण नबनाएसम्म कृषिमा आत्मानिर्भर हुन नसकिने बताउनु भयो ।
कार्याक्रममा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, नेपाल कृषि सहकारी केन्द्रिय महाप्रवन्धक रुद्र भट्टराई, कृषि सहकारी प्रदेश संघ रविन्द्र आचार्य, गौरादह नगरपालिका वडा नं. १ का अध्यक्ष नगेन्द्र भण्डारी लगायतले किसानको बजार सुनिश्चित गर्न सवै क्षेत्रबाट सहयोग गर्नु पर्नेमा जोड दिएका छन् । महारानीझोडा साना किसान सहकारी संस्थाका व्यवस्थापक चिरनञ्जीवि भण्डारीले संचालन गरेको कार्याक्रममा ५ वटा सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधि, गौरादह उद्योग बाणिज्य संघ लगायतबाट समेत उपस्थिति रहेको थियो ।
किसानको बजार महारानीझोडा, गौरादह, वैगुन्धुरा, कोहबरा, जुरोपानी साना किसान कृषि सहकारी संस्थाको सँयुक्त लगानीमा १ कठ्ठा जमिनमा भाडामा लिएर संचालन गरेको बताइएको छ । गौरादहमा किसानको बजार जिल्लामै पहिलो पटक खोल्न सफल भएकोले किसान र उपभोक्ताहरु विच्यौलाको मारमा पर्नु नपर्ने अवस्था सृजना भएको कार्याक्रमका बक्ताहरुले बताएका छन् ।