वेमौषमी बर्षाले गरेको बालीको क्षतिपूर्तीमा ढिलाई (फाेटाे फिचर सहित)
१५ फाल्गुण २०७८/बालदिवश तामाङ
यस बर्षको वेमौषमी बर्षाले ठूलो क्षति व्यहोर्न बाध्य किसानलाई राज्यले क्षति वापत राहत दिने भन्ने निर्णय गरे पनि किसानले पाउन सकेका छैनन् । बाली क्षति भएको ४ महिना वितिसक्दा समेत वास्तविक विवरण संकलन नसकिएकाले राहत उपलव्ध गराउन समस्या भएको छ । मंसीर महिनामै सरकारले बाढी र बर्षाका काराण क्षति व्होहोर्न बाध्य किसानलाई राहत दिने भने पनि किसानले भने राहत पाउन सकेका छैनन् । क्षति भएको लामो समय वितिसक्दा समेत सरकारले वितरण गर्ने भनेका राहत नदिएकाले अव नपाउने पो हो की भन्ने लाग्न थालेको किसानले बताएका छन् ।
राहत वितरणको लागि सरकारले बनाएको कार्यविधीले क्षति भएको जग्गाको किता नम्बर, किसानको वंैक खाता जस्ता कागजात अनिवार्य गरेर स्थानीय तहलाई सिफारिस गर्न जिम्मा दिएको छ । कार्याविधि अनुसार किसानको मापदण्ड नभएकाले विवरण तयार गर्न धेरै समस्या भएकोे दमक नगरपालिका कृषि शाखाकी प्रमुख चन्द्रकला भट्टराईले बताउनु भयो । भट्टराइका अनुसार कतिपय किसानले साहुकाे खेती गरेकाे र साहुकाे बसाइ अर्कै स्थानमा भएकाले पनि समस्या भएकाे छ । तथापि विवरण संकलन तिव्ररूपमा भइरहेकाे उहाँले बताउनु भयाे ।
स्थानीय तहले सिफारिस गरेको किसानको विवरण प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बनेको छनौट समितिले केन्द्रिय सरकारलाई बुझाउने छ । त्यसरी वुझाइएको क्षतिको विवरणको आधारमा साना, मध्यम र ठूला गरी तीन किसिमका किसानलाई २० देखि ६५ प्रतिशतसम्म राहतको रकम किसानको खातामा पठाइने छ ।
झापा जिल्लामा यस अघि कृषि ज्ञान केन्द्रले निकालेको तथ्याङ्क अनुसार धान रोपिएको ८७ हजार ५ सय हेक्टर क्षेत्रफल मध्ये १८ प्रतिशत क्षेत्रफलमा क्षति भएको थियो । तर राहत वितरणका लागि स्थानीय तहबाट विवरण आइनसकेकोले कति राहत रकम माग गर्ने भन्ने नै निश्चित नभएकाले राहत वितरणमा ढिलाई भइरहेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले बताउनु भयाे । सिंहका अनुसार हालसम्म २ वटा पालिकाकाे विवरण मात्र अाइपुगेकाे छ । सवैकाे विवरण जम्मा नभइ क्षतिपुर्ती वितरणमा समस्या हुने उहाँले बताउनु भयाे । यता किसानले भने चाँडाे क्षति वापत रकम पाए थप खेती गर्न सहज हुने बताएका छन् ।