स्वास्थ्य बीमाकाे रकम नपाउँदा प्रदेश एकका विरामीकाे उच्च चाप हुने अस्पताल संचालनमा समस्या
१८ फाल्गुण,२०७८, झापा- लामो समयदेखि स्वास्थ्य बीमा बोर्डले पूर्वी नेपालका सरकारी अस्पतालमा स्वास्थ्य बीमा वापत कराेडाैं रकम शाेधभर्ना गर्न नसक्दा अस्पतालका सेवा सुचारू गर्न नै समस्य हुन थालेकाे छ । पछिल्लाे समय सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बीमावापतको करोडौँ रकम शोधभर्ना नगर्दा प्रतिष्ठानमा आर्थिक सङ्कट पर्न थालेकाे जनाएकाे छ ।
एक महिनाभित्र बीमावापतको रकम शोधभर्ना नदिए प्रतिष्ठानले दिँदै आएको बीमा सुविधा बन्द गर्नुपर्ने अवस्था आएको भन्दै स्वास्थ्य बीमा बोर्डलाई प्रतिष्ष्ठान प्रशासनले पत्र लेखेको छ । स्वास्थ्य बीमा बोर्डको सहकार्यमा प्रतिष्ठानले स्वास्थ्य विमितलाई निःशुल्क सेवा दिँदै आएको थियो । बीमा सेवावापत बीमा बोर्डले प्रतिष्ठानले पेस गरेको कागजातका आधारमा मूल्याङ्कन गरी भुक्तानी गर्ने प्रावधान छ । गत कात्तिकदेखि प्रतिष्ठानले दाबी गरेको रकम बोर्डले भुक्तानी नगर्दा प्रतिष्ठान सञ्चालनमा समस्या आउने देखिएको अस्पतालका प्रशासकीय अधिकृत अशोक साहले जानकारी दिनुभयो । विमितको कागजपत्रसहित साप्ताहिकरूपमा प्रतिष्ठानले भुक्तानी दाबी गर्ने गरेको छ । प्रतिष्ठानले दाबी गरेको मूल्य बोर्डले रुजु गरेर भुक्तानी पाउने गरेको थियो । महिनामा ३ करोडभन्दा बढीको दाबी हुने गरेको छ । बीमाका कर्मचारीले प्रतिष्ठानले दाबी गरेको शोधभर्ना रकमको मूल्याङ्कन नै नगरीदिँदा प्रतिष्ठानलाई दैनिक कार्य सञ्चालनका लागि समस्या भएको अस्पतालका निर्देशक प्रा डा गौरीशङ्कर साहले बताउनुभयो ।
विसं २०७४ देखि बीमा सुविधा दिँदै आएको प्रतिष्ठानलाई बोर्डले भुक्तानी गर्न रु २६ करोड देखिएको छ । गत कात्तिक २८ यता कुनै दाबी स्वीकृत नगरेको साहले बताउनुभयो । प्रतिष्ठान स्वशासित संस्था भएकाले यहाँका कर्मचारी, चिकित्सक तथा पदाधिकारीका लागि प्रतिष्ठान आफैँले तलबभत्तालगायतका सेवा–सुविधा उपलब्ध गराउँदै आएको छ । आन्तरिक आम्दानीले नै प्रतिष्ष्ठान चलाउनुपर्ने बाध्यता भएको प्रतिष्ठानको मुख्य आम्दानी भनेकै बिरामीको सेवाबाट हो । प्रतिष्ठानमा दैनिक आउने बिरामीमध्ये ६० देखि ७० प्रतिशत बीमाबाट आउने गरेका छन् । बीमा सुविधा हुनेलाई प्रतिष्ठानले ‘जिरोमा विलिङ’ गर्दै आएको छ । प्रतिष्ठानको आम्दानीको स्रोत नै बीमामा जोडिएपछि आर्थिक सङ्कट उत्पन्न भएको प्रतिष्ठानका सहप्रवक्ता डा चुडामणि पोखरेल बताउनु भयाे । कात्तिकयताको करिब रु १५ करोड र २०७४ सालदेखि नै बोर्डले पेन्डिङ गरेको रकम गरी रु २६ करोड भुक्तानी लिन बाँकी देखिएको उहाँले बताउनुभयो । पटक–पटक ताकेता गर्दा पनि बोर्डका कर्मचारीले जनशक्ति अभावको कारण देखाउँदै मूल्याङ्कन नगर्दा अस्पतालले भुक्तानी पाएको छैन ।
यस्तै यता झापाकाे दमकमा पनि बीमा वापत ठूलाे रकम प्राप्त हुन सकेकाे छैन । ३ महिना अघि बीमा वापत पाउनु पर्ने रकम पुरा नपाएकाे र ३ महिना यता झण्डै १० कराेड रकम पाउनु पर्ने रहेकाे दमक अस्पतालकाे सूचना अधिकारी देबी दंगालले जानकारी दिनु भयाे । झापाकाे दमक अस्पतालमा धेरै विरामीकाे चाप हुने गरेकाे छ । अस्पतालमा दैनिक ५ सय देखि १ हजारसम्म विरामीले उपचार गर्दै अाएकाे अस्पतालले जानकारी दिएकाे छ । लामाे समय देखि वीमाकाे रकम शाेभभर्ना हुन नसक्दा अस्पताल संचालन मै समस्या भएकाे सूचना अधिकारी दंगालले बताउनु भयाे । नेपालका सरकारी तथा निजी गरेर ४३७ अस्पतालले बीमा सुविधा दिँदै आएका छन् ।पछिल्लाे समय अधिकाशं अस्पतालमा बीमाकाे रकम शाेधभर्नामा समस्या रहेकाे अस्पतालले जानकारी दिएका छन् ।