पेट्रोलियम पदार्थको मूल्य सरकारकाे काबु बाहिर : मन्त्री बडू
७ असार २०७९,काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य काबु बाहिरको अवस्था रहेको बताउनु भएकाे छ । उहाँले प्रतिनिधिसभाको अाज भएकाे बैठकमा रुस-युक्रेन युद्धका कारण विश्व बजारमा नै पेट्रोलियम पदार्थ तथा इन्धनको मूल्य बढेकाले नेपालमा काबु बाहिरको अवस्था आएको बताउनु भएकाे हाे ।
रुस र युक्रेन युद्धका कारण विश्व बजारमा नै अभाव बढ्दो अवस्थामा रहेको छ । त्यतिबेला हामीले आफ्नो जनताका निम्ती थप उपाय के हुन सक्छन् भन्ने छ । यो बाध्यात्मक अवस्थामा मूल्यवृद्धि गर्नुपरेको छ ।’सरकार जनता माथि परेको पीरमर्कामा संवेदनशील रहेको मन्त्री बडूको भनाइ रहेकाे छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले अन्य क्षेत्रमा भएको मूल्यवृद्धिले जनतामा असर परेको विषयमा सरकार संवेदनशील रहेको र पीडाबोध भइरहेको उहाँको भनाइ थियो । उहाँले मन्त्रिपरिषद्बाट पेट्रोलियम पदार्थको आपूर्ति सहज र पारदर्शी बनाउन सरकारले अपनाउनुपर्ने अल्पकालनीन, दीर्घअकालीन, नीतिगत र संस्थागत सुधारका लागि प्रतिवेदन पेस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा एक उच्चस्तरीय अध्ययन कार्यदल गठन गरिसकेको पनि जानकारी दिनु भयाे । खाना पकाउने ग्यासको खपत न्यून गर्ने र विद्युतीय खपत बढाउन विद्युत महसुलमा सहुलियत दिइ राहत प्रदान गर्ने कार्यक्रम रहेको पनि बडूको भनाइ रहेकाे छ ।
अन्तर्राष्ट्रिय बजारअनुसार पेट्रोलको मूल्य बढेर प्राप्त हुँदा नेपालमा पनि बढाउने र घट्दा घटाउने प्रक्रिया निगमले विगतदेखि नै अवलम्बन गर्दै आइरहेको विषय भएको उहाँले जनाउनुभयो । मन्त्री बडूले पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिको कारण सर्वसाधारणलाई पर्न गएको असुविधालाई ध्यानमा राख्दै सरकारद्वारा हाल पेट्रोलियम पदार्थमा लगाइँदै आएको कर समायोजन गरेर मूल्य घटाउने र उपभोक्तालाई राहत प्रदान गर्ने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु १० ले घटाइसकिएको सदनलाई जनाउनुभयो ।
सरकारी निकायले कम्तीमा पनि २० प्रतिशत पेट्रोलियम पदार्थ खपत कम गर्ने व्यवस्था मिलाउन नीतिगत निर्णय भइसकेको जानकारी दिँदै मन्त्री बडूले चालु आवको बजेटमार्फत पहिलो चरणमा सिंहदरबारस्थित सरकारी कायार्लयबाट एलपी ग्यासको प्रयोग हटाएर वैकल्पिक उपाय अवलम्बन गर्ने नीतिगत व्यवस्था गरिएको बताउनुभयो ।
यस्तै अाजै राष्टि्यसभाले समेत पेट्रोलियम पदार्थ तथा इन्धनको मूल्य सम्बन्धी बहस भएकाे छ ।