दमकको नगरसभा स्थगित
२७ असार २०७९,सारासन्देश समाचार
झापाको दमक नगर पालिकाले निर्धारित समयमा बजेट पास गर्न सकेको छैन । आज सोमबार तोकेको ११ औं नगरसभामा विवाद चुलिए पछि सभा २९ गतेसम्मका लागि स्थगित गरिएको नगर प्रमुख तथा सभाका अध्यक्ष राम थापाले बताउनु भयो ।
सभामा पेश गर्ने कार्यसूची पेश भए पछि सुझाव राख्न नाम टिपाएका सभासदले लामो समय लिए पछि विवाद चुलियो । सभामा सर्वस्वीकार्य तवरबाट बजेट पास नभइ अध्यक्षले पास गरेको घोषणा गरेको भन्दै विवाद बढे पछि सभा स्थगित गरिएको सभामा कार्याक्रम तथा बजेट प्रस्तुत गर्नु भएकी नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईंले बताउनु भयो ।
सभामा उपप्रमुख प्रसाईले बजेट र विधेयक पेश गरे पछि सुझाव लिनेक्रममा विवाद भएको थियो । नगरसभामा एमाले पार्टीको बहुमत रहेकाले प्रमुख र उपप्रमुखलाई असहयोग गर्न खोजिएको उपप्रमुखले बताउनु भयो । दमक नगरपालिकाले आगामी आर्थिक बर्षका लागि १ अर्व ६४ करोडको बजेट ल्याएको छ । सभामा प्रमुखले सर्वस्वीकार्य नभई एक तर्फीढंगबाट बजेट पास गर्न खोजिएको भन्दै एमाले पक्षका सभाषदहरुले विरोध गरेको बताएका छन् ।