दमकको बजेट एमालेका कारण नरोकिएको दावी
४ साउन २०७९/सारासन्देश समाचार
दमक नगरपालिकाको बजेट पास नहुनुको कारण एमाले जनप्रतिनिधिको नभएको दाबी गरिएको छ । दमकमा आज एक पत्रकार सम्मेलन गर्दै एमाले जनप्रतिनिधिले राखेका सुझावलाई नसमेटी एकलौटी ढंगबाट बजेट पास गर्न खोज्दा आफूहरुले स्वीकार नगरेको बताएका छन् ।
कार्य पालिका सदस्य लोकबहादुर धिमालका अनुसार गत असार १० गते नगरसभामा दिइएको सुझावलाई कार्यपालिका वैठकमा लगेर छलफल गर्नु पर्नेमा सिधै बजेट पास गर्न खोज्दा विवाद आएको बताउनु भयो । उहाँले तीनै तह सरकार भने पछि संघ र प्रदेशमा जस्तै स्थानीय सरकारमा संविधानमा नभए पनि संशोधन गरेर भए पनि संसदीय दलको अभ्यास हुनु पर्ने दावी गर्नु भयो ।
यस्तै पत्रकार सम्मेलनमा पूर्व नगर प्रमुख तथा नेकपा एमाले केन्द्रिय सदस्य रोमनाथ ओलीले बर्तमान नगरप्रमुखले तत्काल कार्यपालिकाको वैैठक बोलाएर नगरसभा सदस्यले दिएको सुझावहरु समेट्नु पर्नेमा जोड दिनु भयो । उहाँले संसदीय दलको विषयमा एमालले भित्र पालिका दल भन्ने हुन्छ र उनीहरुले नगरसभामा आफ्ना कुरा राख्न पाउने अधिकार यस अघि पनि सुनिश्चित गरिएको पूर्व नगरप्रमुख तथा नेकपा एमालेका केन्द्रिय सदस्य रोमनाथ ओलीले बताउनु भयो ।
स्थानीय सरकार संचालन ऐन २०७४ विपरित एकलौटी ढंगले नगरको नीति, कार्यक्रम तथा बजेट पास गर्न खोजेकाले पछिल्लो ३ गतेको नगरसभामा आफूहरु उपस्थित नभएको एमाले पार्टीका जनप्रतिनिधिले बताएका छन् । दमकमा एमाललेको दुई तिहाइ बहुमत रहेको छ । ५५ सदस्य मध्ये ४३ जना एमाले पार्टीबाट रहेका छन् । दलहरुको हठ र विवादका कारण दमक नगरपालिकामा हालसम्म बजेट पारित हुन सकेको छैन ।
पत्रकारले समेत एमालेले गरेको माग चाँही उल्लेख्य नगर्ने र नभएको नमागेको सेवा सुविधा मागेको विषयमा समाचार लेखेको भन्दै पत्रकारहरु प्रति समेत असुन्तुष्टी प्रकट गरिएको छ । केही राष्ट्रिय स्तरका संचारमाध्यमहरुले एमालेको मात्र कम्जोरी देखाएर समाचार छापेको प्रति पत्रकारले सन्तुलित समाचार सम्प्रेषण समेत नगरेको एमालेका नेतृत्वले आरोप लगाएका छन् ।