सप्तकाेसी बस्तीभित्र पसे पछि हजाराैं विस्थापित, धमाधम सुरक्षित स्थानमा सारिँदै
१८ साउन २०७९, सप्तरी– ३४ बर्ष अघि काेशी बग्ने वेलका नगरपालिका क्षेत्रमा सप्तकाेशीकाे भंगालाे पसे पछि २ हजार बढी मानिसहरू प्रभावित भएका छन् । तीन दशकपछि सप्तकोसी नदीले आफ्नो पुरानै धार सोझ्याउँदा उदयपुरको बेलका नगरपालिका र सप्तरीका केही क्षेत्र प्रभावित हुन पुगेको हाे । बाढी बस्ती तिर पसे पछि आसपास क्षेत्रका झण्डै दुई हजार परिवार प्रभावित हुन पुगेका छन् । प्रभावित स्थानीयको उद्धार कार्य जारी रहेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म करिब एक हजार परिवारलाई उद्धार गरिएको छ ।
अझै केही परिवार उद्धारको पर्खाइमा रहेका र उनीहरुको सुरक्षाकर्मी, स्थानीय तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा उद्धार जारी रहेको उहाँले जानकारी दिनुभयो । बेलका नगरपालिकाको वडा नम्बर १, २, ८ र ९ मा कोसीको एउटा भङ्गालो पसेको छ । गत वर्ष पनि सोही क्षेत्रबाट कोसी बस्तीमा प्रवेश गर्न लागेको थियो । त्यसबेला अस्थायी तटबन्धले कोसी रोकिएको थियो तर यसपाली भने कोसी धार परिवर्नत गरेर त्यस तर्फ प्रवेश गरेकाे हाे । केही बस्तीका स्थानीय सर्न नमानेको र त्यस क्षेत्रमा स्थानीय प्रशासन र जनप्रतिनिधि पुगेपछि सार्ने क्रम जारी रहेको जनाइएको छ । अहिले भने पानी पर्ने क्रम रोकिएकाले उद्धार कार्यमा केही सहज भएको जनाइएको छ । उता कोसीको बहाव भने घटेको छैन ।
यस बर्षकाे बर्षातमा गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार यो साल मनसुन सक्रिय भएदेखि (जेठ २२ पछि) विपद्जन्य घटनाबाट ३५ जनाको मृत्यु भएको छ भने तीन बेपत्ता भएका छन् । विभिन्न घटनामा परेर ३९ घाइते भएका छन् । देशका ४७ जिल्लामा विपद्जन्य घटना भएको छ । त्यसबाट ८२ घर पूर्ण र ६४ घरमा आंशिक क्षति पुगेको छ । यही साउन १६ यताका दुई दिनमा विपद्बाट सात जनाको मृत्यु भएको जनाइएको छ ।