जंगली हात्तीको आतंकः मानव र हात्तीबीच द्वन्द्व बढ्दै, गएकाे बर्ष ५ जना मानिस र २ वटा हात्तीकाे मृत्यु
२० साउन २०७९/डिकेश लामा
झापाको दमक वडा नं. ३ उत्तरी क्षेत्रमा विगत केही समय देखि जंगली हात्तीले आतंक मच्चाउन थालेको छ । रातको समय नजिकै रहेको हंसे दुम्से सामुदायिक बनबाट निस्केर बस्तीको घर भत्काउने तथा अन्नपात, बाली विरुवा खाएर नष्ट गर्ने जस्ता कार्य भइरहेको सो वडाका वडाअध्यक्ष नविन बरालले जानकारी दिनु भयो ।
हात्तीले १ दर्जन भन्दा धेरै घर भत्काएको छ । जस मध्ये गोलाटारको कमल भण्डारी र दुम्से गाउँको लक्ष्मण तामाङको घरमा भने धेरै क्षति पुगेको इलाका प्रहरी कार्यलय दमकले जानकारी दिएको छ ।
लगातार २ साता भन्दा धेरै समय हात्तीले दुःख दिन थाले पछि उत्तरी क्षेत्रका बासिन्दाले हात्ती धपाउन प्रहरी प्रशासनलाई गुहार समेत माग गर्न थालेका छन् ।
झापामा पछिल्लो समय भारतबाट प्रवेश गरेका जंगली हात्तीले सिमावर्ती क्षेत्रका बस्ती देखि जिल्लाका विभिन्न जंगल नजिक रहेका बस्तीहरुमा दुःख दिने गरेको छ । लामो समय देखि हात्ती र मानवबीच भएको द्वन्द्व न्यूनिकरणका लागि सरकारले स्थायी उपाय खोज्नु पर्ने हात्ती प्रभावित क्षेत्रका बासिन्दाले बताएका छन् ।
यसैगरी गएकाे आर्थिक वर्षमा जिल्लामा पाँच जना मान्छेले हात्ती आक्रमणमा परेर ज्यान गुमाएका छन् भने दुई वटा हात्ती मारिएका छन् । हात्ती आक्रमणमा परेर ज्यान गुमाउनेमा ज्येष्ठ नागरिक रहेको डिभिजन वन कार्यालयको तथ्याङ्कले देखाएको छ ।
हात्तीबाट मारिनेमा मेचीनगर नगरपालिका–९ की ७० वर्षीय पेना किसान, दमक नगरपालिका दमक–३ का ६३ वर्षीय गणेशप्रसाद अधिकारी, मेचीनगर नगरपालिका–१३ स्थित चारआली घर भएका ७१ वर्षीय खम्बासिंह कार्की, भद्रपुर नगरपालिका–९ बस्ने ६० वर्षीय रामबहादुर बुर्जा, कनकाई नगरपालिका ७७ वर्षीय कृष्णबहादुर भुजेल रहेको कार्यालयले जानकारी दिएकाे छ । उनीहरूलाई चिया बगानमा पत्ती टिप्दा, खेतमा पानी लगाउँदै र घाँस काट्दै गर्दा हात्तीले कुल्चेर मारेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । हात्तीले बिहान, बेलुकाको समयमा आक्रमण गरेर मान्छेलाई मारेको छ । भारतबाट दैनिक हुल बाँधेर आउने हात्तीमध्ये १३ यहीको जङ्गलमा रैथाने भएर बसेका छन् । झापामा चार दशकदेखि मानव र हात्तीबीचको द्वन्द्व निरन्तर छ ।
यसैगरी विधुत लागेर बुद्धशान्ति गाउँपालिका–५ आयाबारीमा करिब आठ वर्ष र अर्जुनधारा नगरपालिका–४ दहीझोडा सामुदायिक वनभित्र रहेको खोला किनारमा २५ वर्षको हात्ती यसै हप्ताभित्र मृत भेटिएका छन् ।