नागरिकता नबन्दा हजारौं युवा वेराजगार बन्दैः उच्च शिक्षा देखि वैदेशिक रोजगारबाट समेत बन्चित

७ भदौ २०७९/डिकेश लामा (झापा)

जन्मको आधारमा बुवा आमाको नागरिकता भएर पनि छोराछोरीको नबन्दा पछिल्ला युवा पुस्तामा समस्या भएको छ । नागरिकता सम्बन्धी कानुन नबेकाले नागरिकता प्राप्त नहुँदा पछिल्ला पुस्ताले समस्या झेल्नु परेको उनीहरुले बताएका छन् । दक्षिणी झापा गौरीगंज गाउँपालिका वडा नं. ६ का ४८ बर्षीय रामबृक्ष महत्तोको नागरिकता जन्मको आधारमा बनेको छ । उहाँको श्रीमती सिताकुमारी महत्तोको भने वंशजको आधारमा नागरिकता प्राप्त भएको छ । तर उनीहरुको ३ जना छोराछोरीको नागरिकता नबनेकाले उच्च शिक्षा देखि रोजगारी गर्न समेत बाट बन्चित हुनु परेको छ ।

महत्तोको समस्या त एउटा प्रतिनिधिमुलक समस्या मात्र हो । गौरीगंज गाउँपालिका क्षेत्रमा मात्र त्यस्तो समस्याबाट नागरिकता नपाउँदा ५ हजार भन्दा धेरै मानिसहरु नागरिकता विहीन भएर बस्नु परेको मुश्लिम समूदायका अगुवा तथा वडा सदस्य महमद आसा मुदिन मियाँले बताउनु भयो । मियाँका अनुसार सवै भन्दा धेरै पिछाडिएका आदिवासीहरुमा यो समस्या रहेको छ । सिमावर्ती क्षेत्रमा नेपाल भारतबीच वैबाहिक सम्बन्धका कारण पनि यो समस्या आएको हो । बुवाको जन्म र आमाको वंशज तथा आमाको जन्म र बुवाको वंशज हुँदा छोराछोरीले नागरिकता नपाएको उहाँले बताउनु भयो । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विद्येयक फिर्ता गरे पछि निराश बनेका नागरिकता पीडित समूदायमा पुन प्रतिनिधिसभाले पारित गरे पछि अव भने विधेयकले कानुनी मान्यता पायो भने नागरिकता समस्या हट्ला कि भन्ने आशा पलाएको उहाँले बताउनु भयो ।

यस्तै खासगरी पूर्वी नेपालको सुनसरी, मोरङ्ग र झापामा बसोवास गर्दै आएका उराव समूदायमा पनि नागरिकताको समस्या उस्तै छ । उराव समूदायमा पनि बुवा आमाको जन्मको आधारमा नागरिकता भएकै कारण युवा पुस्ताहरुले कुनै पनि असवर प्राप्त गर्न नसकेको नेपाल झाँगड उराउ कोरेम सुधार समितिका केन्द्रिय अध्यक्ष दिपेन्द्रकुमार उरावले बताउनु भयो । उरावका अनुसार उराव समूदायमा शैक्षिक चेतनाको अभावमा बुवा आमाले नागरिकता पाएर पनि कतिपय छोराछोरीको नागरिकता बनाउने चासो नदिदाँ पनि नागरिकताको समस्या आएको छ । यस्तै दमक वडा नं. ९ को हिमालय गुडरिक चिया बगान क्षेत्र नजिकका बस्तीमा बसोवास गर्दै आएका उराव समूदायका सयौं यूवाहरु समस्या परेका छन् । नागरिकता नभएकै कारण जागिर र वैंकिङ कारोवार र रोजगारीमा समस्या भएको स्थानीय युवा रोहित कुमुद उरावले बताउनु भयो । स्थानीय अगुवा बृद्धबृद्धाका अनुसार २०१८ सालमा भारततिरबाट काम गर्न ल्याइएका मजदुरका रुपमा भित्रिएका परिवारको धेरै वटा पुस्तामा अझै नागरिकताको समस्या हट्न सकेको छैन । बुबा आमाको नागरिकता अंगिकृत भएकाले नै समस्या भोग्नु परेको उनीहरुले बताएका छन् ।
पुनः संसदबाट नागरिकता विद्येयक पारित भए पछि अव भने नागरिकताको समस्या समाधान होला भन्ने आशा पलाएको स्थानीय युवा डेभिड टोपु उरावले बताउनु भयो ।

संविधान जारी भएको ७ बर्षसम्म पनि नागरिकता सम्बन्धीको विधेयक बन्न नसक्दा खासगरी आदिबासी समूदायमा समस्या रहेको छ । संविधानले हरेक नागरिकलाई नागरिकता प्राप्त हुनबाट बन्चित नगर्ने भन्ने कुरा स्पष्ट गरे पनि कानुन बन्न नसक्दा देशमा हजारौं नागरिकहरु नागरिकता प्राप्त गर्नबाट बन्चित हुनु परेको छ । नागरिकता नभएकै कारण शिक्षा र रोजगारबाट समेत बन्चित हुनु परेकाले अव भने चाँडै समस्या समाधान हुने आशा पलाएको पीडितहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ६३४ जना संक्रमितः १ जनाकाे मृत्यु
Next post Vulkan Vegas Betrug oder nicht? » Unser Test & Erfahrungen 202