उम्मेद्वार उही गठबन्धन फरकः ओली र अधिकारी मध्ये कसले मार्ला बाजी?
२१ कार्तिक २०७९/डिकेश लामा
नेपालमै निक्कै चासोका साथ हेरिएको झापाको निर्वाचन क्षेत्र नं. ५ मा यस पटक पुरानै उम्मेदवारबीच भिडन्त हुँदैछ । तर यस पटक गठबन्धन फेरबदल पछि चुनावी माहोल समेत रोचक बनेको छ ।
झापा निर्वाचन क्षेत्र नम्बर ५ मा २०७४ कै प्रतिस्पर्धीहरु रहेका छन् । तर, गठबन्धन भने फरक छ । ०७४ मा एमाले माओवादी गटठबन्धन थियो । यसपटक एमालेविरुद्ध सत्तारुढ कांग्रेस–माओवादी गठबन्धन छ । यसपटकको निर्वाचनमा पनि एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसबाट डा. खगेन्द्र अधिकारीको प्रतिस्पर्धा हुँदैछ ।
झापा–५ मा ओली र अधिकारीसहित २५ जना उम्मेदवार प्रतिनिधिसभाका लागि चुनावी मैदानमा छन् । यद्यपि प्रतिस्पर्धा भने ओली र अधिकारीबीच हुने निश्चित छ । पटकपटक यही क्षेत्रबाट निर्वाचनमा प्रतिस्पर्धा गर्नुभएका ओलीले २०७४ मा डा. अधिकारीलाई आधा बढी मतान्तरले पराजित गर्नुभएको थियो । तर, यसपटक भने गठबन्धन परिवर्तन भएका कारण आफूले बाजी मार्ने अधिकारीले दावी गर्नु भयो । उहाँको अनुसार यस अघिको निर्वाचनमा आपूmलाई खासै यस क्षेत्रका जनताले नचिने र प्राध्यापन पेशा छाडेर चुनावमा एकल भिडन्त गर्दा समेत २८ हजार बढी मत प्राप्त गर्नु पनि एउटा गतिलो आधार भएका बताउनु भयो । यस पटक गठबन्धन आफूतिर फर्किएको र एमाले समेत चिरा भएको अवस्थामा आफ्नो विजय हुनेमा निश्चित रहेको अधिकारीले दावी गर्नु भयो । लामो समय प्राध्यापन गरेको पेशा छाडेर उहाँले जनताको सेवा र समाज विकासको निम्ति यस पटक पनि पार्टीले दिएको जिम्मेवारी आफूले विजय प्राप्त गरेर देखाउने उहाँको भनाइ छ ।
यता झापाको निर्वाचन क्षेत्र नं. ५ मा पूर्व प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष ओलीले २०४८ साल देखि लगातार ६ पटक निर्वाचनमा भाग लिइ सक्नु भएको छ । जसमा २०६४ सालको निर्वाचन बाहेक ५ पटकसम्म आफ्नो पक्षमा जित निकाल्न सफल हुनु भएको छ । राप्रपासँगको तालमेल र केही साना दलले समेत आफूलाई समर्थन र सहयोग गर्ने निश्चित भएकाले आफ्नो विजय हुने उहाँ ढुक्क हुुन हुन्छ । उहाँको अनुसार यस पटकको निर्वाचन निर्वाचन मात्र नभई देशको भविष्यको फैसला भएको बताउनु भएको छ । यस्तै उहाँले आफ्नो गृह नगर दमकमा भएको चुनावी सभा तथा घरदैलो कार्याक्रमलाई सम्बोधन गर्दै यस ठाउँको विकासको जिम्मा पनि आफ्नै भएको पूर्वप्रधानमन्त्री ओलीको दाबी छ । ओलीका अनुसार गठबन्धनको सररकार भनेको जनमतको सरकार नभई गलत तरिकाले बनेको सरकार भएकाले यो सरकार आगामी निर्वाचनको परिणाम नआएसम्मका लागि मात्र हुने दावी गर्नु भएको छ ।
झापा–५ मा निर्णायक मानिएको राप्रपाको मत पनि एमालेलाई जाने भएपछि प्रतिस्पर्धा थप रोचक हुँदैछ । यद्यपि गत स्थानीय तहको निर्वाचनमा राप्रपाका प्रदेश नम्बर एकका अध्यक्ष राम थापा सत्तारुढ गठबन्धनको सहयोगमा दमक नगरपालिकाको प्रमुखमा निर्वाचित भएकाले राप्रपाको शतप्रतिशत मत एमालेलाई जानेमा स्थानीय बुद्धिजीवीहरुको शंका रहेको छ । देशकै चासोको रुपमा हेरिएको पुरानै दुई अनुहार मध्ये कसको अनुहार चुनाव पछि हँसिलो हुन्छ भन्ने कुरा आसन्न मंसीर ४ को निर्वाचन पछि थाहा हुनेछ । ओली र अधिकारीबीच कसले मार्ला बाजी भन्ने कुरा दुई धु्रवीय शक्तिको आ–आफ्नो दावी रहे पनि मंसीर ४ पछिको जनमतको परिणामले सवैको जिज्ञासाको विट मार्ने निश्चित छ ।