चुनावको वेला बाढी पीडितको गुनासोः कहिल्यै हामी सुरक्षित हुन्छौं ? (फाेटाे फिचर)

जनताको आक्रोश आउने डरले उम्मेद्वार पुगेन् बाढी पीडित बस्तीमा

१ मंसीर २०७९/डिकेश लामा

झापामा बाढी पसेर केही बर्ष यता हजारौं विगाह धानखेत बगरमा परिणत भएको छ । गुजारा गर्ने खेत नै मासिए पछि धेरैलाई समस्या भएको छ । चुनावको वेला नदि नियन्त्रण गर्छौं भन्ने नेताहरु यस पटक त भोट माग्न समेत नआएको बाढी पीडितले दुखेसो पोखेका छन् ।

यो पटक बाढी प्रभावित क्षेत्रमा अधिंकाश शीर्ष नेताहरु भोट माग्न पुग्न सकेनन् । दशकांै देखि चुनाव जित्ने अनि काम नगर्ने भएकाले जनताले आक्रोस् पोख्ने डरले उनीहरु बाढी पीडितहरुको बस्तीभित्रसम्म पुग्न पसेनन् । विगत बर्ष देखि नै भोट मात्र माग्ने तर नदि नियन्त्रण नगर्दा सँधै त्रास र जोखिममा बस्नु परेको बर्षातमा टापुमा परिणत हुने तेलियाडाँगी बस्तीका बासिन्दाले बताएका छन् ।

झापा नेपालकै दोस्रो धेरै झण्डै ७ लाख हाराहारीमा मतदाता रहेको ५ वटा निर्वाचन क्षेत्र भएको जिल्ला हो । जसमा दक्षिणी झापाको निर्वाचन क्षेत्र नं. १ ३, ४ र ५ भने बाढीको उच्च जोखिममा रहेका छन् । झापाको निर्वाचन क्षेत्र नं. १ मा संघीय लोकतान्त्रिक गणतान्त्रत्मक सरकारमा विश्वप्रकाश शर्मालाई हराएर नेकपा माओवादी केन्द्रको तर्फबाट सुरेन्द्रकुमार कार्की विजयी हुनु भएको थियो । तर अझै पनि त्यस क्षेत्रमा अझै पनि नदि नियन्त्रणका गुनासाहरु उतिकै छन् । यस्तै निर्वाचन क्षेत्र नं. ३ मा यस अघि नेपाली काँग्रेशका नेता कृष्ण सिटौलालाई हराएर राजेन्द्र लिङदेनले ५ बर्ष प्रतिनिधिसभा सदस्यको रुपमा काम गर्नु भयो । त्यस अघि लामो समय मन्त्री समेतको भूमिका स्वयम् नेता सिटौलाले समेत गर्नु भएको हो । तर पनि दक्षिणी भूभागमा सिमा स्तम्भ समेत बगाएर हराएको अवस्था छ । नदि नियन्त्रण राम्रो हुन नसकेको स्थानीय बासिन्दाले गुनासो पोख्दै आएका छन् ।

यता निर्वाचन क्षेत्र नं. ४ मा यस पटककै प्रतिष्पर्धी नेपाली काँग्रेशका नेता देउकुमार थेवेलाई चुनावमा हराएर नेकपा एमालेका नेता लालप्रसाद साँवाले निर्वाचन जित्नु भएको हो । तर उहाँको क्षेत्रमा अझै पनि नदि नियन्त्रणको काम गर्न संसदमा उचित नीति तथा विनियम बनाउन नसकेको कन्काई नदिमा ३ दशक देखि नदि किनारमा बसोवास गर्दै आउनु भएका इश्वर माझीले बताउनु भयो ।

यता देशकै निकै चासोको रुपमा हेरिएको झापाको निर्वाचन क्षेत्र नं. ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यो सहित ७ औं पटक चुनावमा उठ्दै हुनु हुन्छ । उहाँले २०६४ को निर्वाचन बाहेक सवैमा जित हात पार्नु भएको छ । यस बीचमा ३ पटक प्रधानमन्त्री भइसक्नु भएको छ । उहाँले झण्डै २ दशक अघिको चुनावी नारा नै रतुवा र मावाको पाता फर्काउँछु भन्ने थियो । तर अझै पनि उहाँकै क्षेत्रमा समेत अझै पनि दर्जनौं बस्ती बाढीको उच्च जोखिममा रहेका छन् । गौरादह नगरपालिका तेलियाडाँगी बस्तीका अगुवा चन्द्रप्रसाद बडही शर्माले बताउनु भयो । शर्माका अनुसार शीर्ष नेतृत्वले नदि तथा खोलाको बाँध बनाउने भनेर हरेक निर्वाचनको मुखमा भोट माग्दा भन्ने तर चुनाव जिते पछि काम नगर्ने चलन अव त नियम जस्तै बनिसकेको बताउनु भयो । तर पनि संघीयता पछि तटबन्धनमा केही काम भने भएका छन् । आवश्यक बजेट नहुँदा भने जस्तो काम हुन नसकेको झापामा नदिनियन्त्रणमा काम गर्दै आएको जनताको तटबन्ध कार्याक्रमका प्रमुख यादब बरालले बताउनु भयो ।

जिल्लामा १३ बर्ष अघि जलस्रोत तथा सिंचाई विभाग अन्तर्गत जनताको तटबन्ध कार्याक्रम झापाले झण्डै ३ सय किलो मिटर क्षेत्र बाँध निर्माण गर्ने भनी विस्तृत परियोजना प्रतिवेदन तयार गरी काम शुरु गरेको हो । तर हालसम्म ३२ प्रतिशत हाराहारीमा मात्र काम भएकाले अझै धेरै क्षेत्र उच्च जोखिममा रहेको जनताको तटबन्धले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post फेरि पनि लिङदेन र सिटौलाकै प्रतिष्पर्धाः कसले मार्ला बाजी?
Next post स्थिर समयमा आचार संहिता उल्लङ्घन नगर्न आयाेगकाे आग्रह