पुरानो झापा बजारको नयाँ मुहार बन्दै (फाेटाे फिचर)
१० पौष २०७९/डिकेश लामा
झापाको पहिलो सदरमुकाम रहेको राणाकालीन पुरानो झापा बजारको मुहार फेरिएको छ । झण्डै एक सतक इतिहास बोकेको बजारमा हुलाकी सडकमा कालो पत्रे भएसँगै बजारको मुहार पनि फेरिन थालेको हो । झापा बजार मुलुकमा राणा शासन हँुदा देखि नै अस्थित्वमा आएको बजार हो । २००७ सालको क्रान्ति पछि ओझेलमा परेको झापा जिल्लाको पहिलो सदरमुकाम रहेको बजार पछिल्लो समय विकास हुन थालेको स्थानीय बूढापाकाले बताएका छन् ।
मोरङ जिल्ला मातहत रहदै आएको झापा २०१८ सालमा अलग्गै जिल्ला घोषित भयो । जिल्ला अलग भएसँगै सरकारी कार्यालय भद्रपुरमा सरे पछि झापा बजार ओझेलमा पर्न पुगेको हो । तर हालै आएर राष्ट्रिय गौरबको हुलाकी सडक निर्माणले गर्दा बजार क्षेत्रको धेरै विकास भएको गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले बताउनु भयो । शाहका अनुसार जिल्लाकै पहिलो सदरमुकाम रहेको बजारबाट भद्रपुर सरे पछि झापा बजार ओझेलमा पर्यो । लामो समय पछि हुलाकी बाटो बने पछि बजारको विकास हुन थालेको उहाँले बताउनु भयो ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था देशमा आएसँगै पुरानो बजारमा विकास हुन थालेको हो । यस अघि पराम्पतरागत शैलीका सानासाना टीनका घरहरु विस्तारै महलमा रुपान्तरण हुन थाले पछि आर्थिक कारोवार समेत बृद्धि हुँदै गएको छ । बंैक तथा वितीय संस्था समेत संचालनमा आउन थालेकाले बजारमा आर्थिक कारोवार समेत बढ्न थालेको छ । बजारको दक्षिणी भागमा रहेको कुमरखोद छोटी भन्सारलाई भन्सारमा स्तरोन्नती गर्न सके झापाको विकासमा ठूलो टेवा पुग्ने गाउँपालिका अध्यक्ष शाहले बताउनु भयो ।
झापा बजारसँग जोडिएर दुई वटा छोटी भन्सार समेत रहेका छन् । तर कर्मचारी व्यवस्थापन र ठूलो कारोवार हुन नसक्दा अझै बजार क्षेत्रको आर्थिक विकास भने अपेक्षा अनुसार हुन नसकेको व्यवसायीले बताएका छन् ।