भारतीय सागसब्जीले नेपाली किसान मारमा (फाेटाे फिचर)

खुल्ला सिमा हुँदै भारतबाट विना परिक्षण सागसव्जी भित्रिदा नेपाली किसानहरु मारमा परेका छन् । भारतमा सरकारको अनुदानमा उत्पादन भएको सागसव्जी नेपाली बजारमा भन्दा सस्तो हुने भएकाले किसानहरुले उचित मुल्य पाउन नसक्दा समस्या भएको गुनासो पोखेका छन् ।

झापाको भद्रपुर भन्सार र गौरीगंजको आठमौजा छोटी भन्सारबाटै पनि कतिपय सागसब्जी विना परिक्षण नै प्रवेश गरेका छन् । यस बाहेक खुल्ला सिमानाबाट अझ धेरै सागसब्जी नेपाली बजारमा ल्याएर सस्तो मुल्यमा विक्री गर्दा किसानलाई समस्या हुने गरेको २० विगाह क्षेत्रमा तरकारी खेती गर्दै आउनु भएका मामाभान्जा कृषि फार्मका संचालक निर्मल अधिकारीले बताउनु भयो । अधिकारीका अनुसार भारतमा सस्तो लागतमा सागसव्जी उत्पादन हुने गर्छ । सरकारको सहयोग भएकाले लगानी कम पर्ने हुनाले नेपाली किसानले प्रतिस्पर्धा गर्न समस्या हुने गरेको छ ।

जिल्लामा १ दर्जन छोटी भन्सार रहेका छन् । ती भन्सारबाट ल्याइने खाद्य बस्तुको क्वारेन्टाइन परिक्षण विनै प्रवेश गर्ने गरिएको छ । यसले गर्दा उपभोक्ताहरु समेत विषादीयुक्त खानेकुरोको शिकार बन्दै आएका छन् । तर सचेत उपभोक्ताले भने महँगो मुल्य तिरेर भए पनि अर्गानिक सागसव्जीको खोजी गर्ने गरेका छन् । झापामा पछिल्लो समय व्यवसायिकरुपमा तरकारी खेती गर्ने किसानहरु बढ्दै गएका छन् । तर भारतबाट सस्तो मुल्यमा सागसब्जी भित्रिदाँ किसानहरुलाई भने समस्या भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो । विष्टका अनुसार चालु बर्ष मात्र विदेशबाट फर्किएका यूवालाई लक्षित गरी २० लाख रुपयाँ बजेट विनियोजन गरिएको छ । तर त्यो प्रयाप्त नभएकाले किसानको लागत कम गर्न चुनौती रहेको छ ।

भारतमा सरकारको अनुदानमा किसानले तरकारी उत्पादन गर्नाले कृषि उपार्जनको लगानी सस्तो पर्ने गर्छ । जसले गर्दा भारतबाट आएका कृषि उपार्जनसँग नेपाली किसानले प्रतिस्पर्धा गर्न नसक्ने भएकाले किसानहरु समस्यामा परेको उनीहरुले दुखेसो पोख्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पुष्प धिरेन्द्रकाे स्मृतिः राजनैतिक द्वन्द्व पीडितकाे समस्या समाधानमा जाेड
Next post दमकबाट लागु औषधसहित ३ जना पक्राउः एक सातामा भारतीय सहित १३ जना पक्राउ