टर्कीमा १ सय बर्ष यताकै सवै भन्दा ठूलाे भूकम्पः १३ सय बढीकाे मृत्यु

२३ माघ २०७९, सारासन्देश– टर्कीमा सोमबार बिहान भूकम्प जाँदा कम्ती १ हजार ३ सय बढीकाे मृत्यु भएकाे  छ । स्थानीय समय अनुसार ४ बजेर १७ मिनेट टर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्प १७.९ किमिको गहिराइसम्म पुगेको उक्त भूकम्पको धक्का साइप्रस र लेबनानसम्म पनि महसुस भएको बताइएको छ । टर्की र उत्तरी सिरियामा भूकम्पका कारण मृत्यु हुनेको संख्या कम्तीमा १३ सयभन्दा बढी पुगेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । टर्कीमा फेरि भूकम्पको अर्को धक्का गएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार टर्कीमा पुनः ७.५ म्याग्निच्युडको भूकम्प गएको बताइएकाे छ ।

अहिले घटनास्थलमा उद्धार कार्य जारी रहेको छ । यससँगै भूकम्पबाट भौतिक संरचना भत्किएका दृश्य सामाजिक सञ्जालमा पनि सार्वजनिक भएका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था न्युयोर्क टाइम्सले भने भूकम्पमा १३ सयभन्दा धेरैको मृत्यु हुनुका साथै हजारौं घाइते भएको जनाएको छ । यद्यपि मृत्यु हुने र घाइतेको संख्याका सन्दर्भमा विभिन्न मिडियाले सार्वजनिक गरेका तथ्यांक फरक देखिएको छ । टर्कीका राष्ट्रपति रेसेप तैएप एर्दोगानले भूकम्प प्रभावित क्षेत्रमा उद्धार टोली तत्कालै खटिएको प्रतिक्रिया दिएका छन् । साथै प्रभावित रहेका ८ वटा प्रान्तका गभर्नरहरूलाई टेलिफोन गर्दै पछिल्लो अवस्थाको जानकारी लिन र उद्धारलाई तीव्र बनाउने निर्देशन दिएका छन् । साथै भत्किएका संरचनामा पुरिएका मानिसलाई तत्काल उद्धार गर्नु र उनीहरूलाई अस्पताल पुर्‍याउनु आफूहरूको प्रमुख प्राथमिकता रहेको पनि उनले बताएका छन् ।

टर्की र सिरियाको यस क्षेत्रमा १ सय वर्षभन्दा लामो अवधिमा यो नै सबैभन्दा ठूलो भूकम्प हो । भूकम्प जानसक्ने जोखिमयुक्त क्षेत्रको रुपमा संसारकै सबैभन्दा संवेदनशिल क्षेत्रको रुपमा टर्की पनि एक हो । जहाँ १९९९ मा शक्तिशाली भूकम्प जाँदा १८ हजार मानिसको मृत्यु भएको थियो । सोमबारको भूकम्पमा भने ४० सेकेन्डसम्म भूकम्पले हल्लाइरहेको महसुस गरिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post लामिछानेकाे अभिव्यक्ती प्रति सवै तिर भत्सर्नाः महासंघले भन्याे अप्रीय घटना भए छामिछानेले जिम्मा लिनु पर्छ
Next post पाेखरामा भएकाे जहाज दुर्घटनाकाे कारण यस्ताे रहेछः दुवै इन्जिनका प्राेपलर फेदरमा किन गएन?