विप्लव सम्बद्ध युवा संगठनको मेची कोशी ब्यूरोका निर्णय सार्वजनिक
१६ फाल्गुण २०७९, झापा– विप्लव नेतृत्वको नेकपा सम्बद्ध युवा संगठन नेपालको मेची कोशी ब्यूरोले सांगठनिक तथा सामाजिक, राजनीतिक बिषयमा विभिन्न ६ बुँदे निर्णय सार्वजनिक गरेको छ ।
ब्यूरोले मंगलबार दमकमा पत्रकार सम्मेलन गर्दै १२ फागुनमा बसेको बैठकका निर्णयहरु सार्वजनिक गरेको हो ।
संगठनका कोशी ब्यूरो इञ्चार्ज आकाश सीको अध्यक्षता र पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्यूरो इञ्चार्ज सुमन सी र संगठनका केन्द्रीय कोषाध्यक्ष सुवास सीको आतिथ्यमा बसेको बैठकले युवाहरुलाई लागूपदार्थ दुव्र्यसनबाट छुटकारा दिलाउन नवजिवन गृह निर्माण गरी उत्पादनमा जोडने , युवाहरुका समस्या समाधानको लागि प्रत्येक ब्यूरो र कल सेन्टर स्थापना गर्ने सहितका निर्णयहरु गरेको जनाइएको छ ।
पत्रकार सम्मेलनमा संगठनका झापा जिल्ला इञ्चार्ज प्रशान्त सीले बढदो मंहगी , कालोबजारी, भ्रष्टाचार तथा वित्तीय संस्थाहरुको ज्यादतीका विरुद्ध भण्डाफोर कार्यक्रम गर्ने, बैदेशिक रोजगारीका नाममा युवाहरुलाई मेनपावरहरुले ठगी गर्ने तथा विदेशमा अलपत्र पार्ने जस्ता कृयाकलापका विरुद्ध संघर्ष गरिने बताउनु भयाे । राष्ट्रियताको आन्दोलनलाई पेचिलो बनाउँदै लगिने र पहिलो चरणमा एमसीसी परियोजनाका विरुद्ध संघर्ष गर्ने, बैशाख २ गते युवाहरुको मार्चपाससहित बृहत प्रदर्शन गर्ने पनि संगठनले सार्वजनिक गरेको छ । संगठनका संयुक्त मेची कोशी ब्युरो इञ्चार्ज आकाशले हस्ताक्षरमा वितरित प्रेस विज्ञप्तीमा संगठनका कार्यक्रम सार्वजनिक गरिएकाे छ ।