रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिः काे हुन् त पाैडेल (जीवनी सहित)

२५ फाल्गुण २०७९,काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । मुलुकको तेस्रो राष्ट्रपतिका लागि आज भएको मतदानमा उहाँले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गरी निर्वाचित हुनुभएको हो । मतदानमा पौडेलले ३३ हजार आठ सय दुई र नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुन्छ । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ ३ सय ३२ र प्रदेशसभा सदस्य ५ सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छन् । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

पूर्व सभामुख समेत रहनुभएका पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार हुनुहुन्थ्यो भने अर्का पूर्व सभामुख नेम्वाङलाई एमालेको मात्र साथ थियो ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन अधिकृत महेश शर्मा पौडलले घोषणा गरेको मतपरिणाम अनुसार पौडेलले ‍३३ हजार ८ सय २ मतभार प्राप्त गर्नु भयाे । उनका प्रतिस्पर्धी नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गर्नु भयाे ।

राष्ट्रपति चुनावमा संघीय संसद्तर्फ ३१३ सांसद (२४ हजार ७ सय २७ मतभार) ले मतदान गरेका थिए भने प्रदेशतर्फ ५१८ (२४ हजार ८ सय ६४ मतभार ) सांसदले मत दिएका छन् । चुनावी प्रक्रियामा सहभागी भएका सांसदहरुको कूल मतभार ४९ हजार ५ सय ९१ थियो । राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार ३ सय १५ आवश्यक पर्छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरूको हाल कायम रहेको मतभार ५२ हजार ६ सय २८ थियो ।

मतदानमा अनुपस्थित हुनेमा राप्रपाका १४ जना सांसद रहेका छन् । त्यस्तै नेमकिपाका प्रेम सुवाल पनि मतदानमा सहभागी हुनु भएन । त्यसैगरी माओवादी सांसद वर्षमान पुन र कांग्रेस सांसद उपचारका लागि चीन र भारतमा रहुन भएकाे छ । त्यस्तै एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी पनि मतदानमा सहभागी हुनु भएन । प्रदेशतर्फ पनि राप्रपाका २८ र नेमकिपाका ३ सांसद मतदानमा सहभागी हुन सकेनन् । त्यस्तै मधेश प्रदेशकी जसपा सांसद विन्दु यादव अनुस्थित रहनु भयाे ।

संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । नेपालमा विसं २०६२/६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।

प्रमाण पत्र प्रदान

नौ दलको तर्फबाट राष्ट्रपतिको उम्मेदवार हुनुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति पदमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा उहाँलाई आज निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभएको हो । कार्यक्रममा निर्वाचन अधिकृत महेश शर्मा पौडेलले निर्वाचनको मतपरिणाम घोषणा गरी नेता रामचन्द्र पौडेल निर्वाचित भएको जानकारी गराउनुभएको थियो ।

सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउत, निर्वाचन आयोगका आयुक्तहरू, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ ।

फाेटाे ग्राफ कान्तिपुर दैनिककाे विवरणबाट तयार गरिएकाे हाे । रामचन्द्र पाैडेलकाे जीवनी

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको जन्म विसं. २००१ असोज २९ गते शनिबार तनहुँ जिल्लाको साविकको मिर्लुङ्, बाहुनपोखरा हालको व्यास नगरपालिका वडा नं ८ मा भएको हो । पौडेलको जन्म मध्यमवर्गीय किसान परिवारमा आमा ऋषिमाया पौडेल र पिता दुर्गाप्रसाद पौडेलबाट भएको हो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेश्रो राष्ट्रपति निर्वाचित पौडेलको नेपालको राजनीतिमा ६ दशक भन्दा लामो योगदान छ । राजा महेन्द्रले ०१७ सालमा शासन हातमा लिएपछि प्रजातान्त्रिक सोंच र संस्कारमा हुर्किनु भएका पौडेल १६ वर्षकै उमेरमा तत्कालिन कठोर राजनीतिमा होमिनु भयो । नन्दीरात्रि माविबाट एसएलसी उत्तिर्ण पौडेल नन्दीरात्रि मावि र रानीपोखरी मावि विद्यार्थी संघको अध्यक्ष समेत हनुभयो ।
२०१८ सालबाटै नेपाली कांग्रेसद्वारा सञ्चालित क्रान्तिमा सहभागी पौडेल ०२३ सालमा गण्डकी छात्र संघको संस्थापक अध्यक्ष र सरस्वती क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापति निर्वाचित हुनुभयो । २०२४ सालमा प्रजातान्त्रिक समाजवादी युवा संघको संस्थापक महासचिव रहनुभएका उहाँ २०२७ सालमा नेपाल विद्यार्थी संघको संस्थापक सदस्य रहनुभयो । त्यसपछि जिल्ला राजनीतिको समेत नेतृत्व गर्नुभएका नवनिर्वाचित राष्ट्रपति पौडेल २०४० मा काँग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख बन्नुभयो ।
२०६२ – २०६४ सम्म काँगेस केन्द्रीय महामन्त्री रहनुभएका उहाँ २०६४ – २०७२ सम्म केन्द्रीय उपसभापति हुनुभयो । २०६४ –२०७० सम्म नेपाली काँग्रेस संसदीय दलको नेता समेत हुनुभएका पौडेल २०७२मा नेपाली काँगेस केन्द्रीय कार्यवाहक सभापति बन्नुभयो । त्यसपछि नेपाली काँग्रेसको ‘वरिष्ठ नेता’ रहनुभएको पौडेल २०७९ फागुन २५ गते देशको राष्ट्रपति निर्वाचित हुनुभएको हो । उहाँले नेपालको प्रजातान्त्रिक आन्दोनका क्रममा २०१८ सालदेखि २०५९ सम्ममा कैयौं पटक गिरफ्तारी र पटक पटक गरी करिव १४ वर्ष जेल जीवन विताउनुभएको छ ।
राजनीतिक अनेक हण्डरलाई शान्त, सरल र स्वभाविकरुपमा ग्रहण गर्दै निष्ठापंर्वक अघि बढ्नुभएका पौडेल २०४८ सालदेखि निरन्तर प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुहुन्छ । २०४८ र २०७९ मा तनहुँ क्षेत्र नं १ र बाँकी कार्यकाल तनहुँ २ बाट उहाँ निर्वाचित हुनुभयो । २०४८ सालमा पहिलोपटक स्थानीय विकास मन्त्री नियुक्त पौडेल २०४९ साउन देखि २०५१ कृषिमन्त्री रहनुभयो । २०५१ पुस २ गते प्रतिनिधिसभाको सभामुख निर्वाचित उहाँले २०५६ देखि २०६४ सम्ममा उपप्रधानतथा सूचना/सञ्चार स्थानीय विकास, उपप्रधानतथा गृह र शान्तितथापुनःनिर्माण मन्त्रीको समेत जिम्मेवारी सम्हालनुभएको छ । शान्ति समितिको संयोजक समेत रहि सक्नु भएका पौडेल २०६४ देखि २०७० सम्म नेपाली काँग्रेस संसदीय दलको नेता तथा संसदमा प्रमुख प्रतिपक्षी दलको नेता पनि रहनुभयो ।
मानव अधिकार सम्बन्धी विभिन्न पुरस्कारबाट सम्मानित नवनिर्वाचित राष्ट्रपति पौडेल जापान सरकारले प्रदान गरेको राजकीय सम्मान ‘अर्डर अफ द राईजिङ सन’ बाट पनि सम्मानित हुनुहुन्छ । राष्ट्रियता, समाजवाद र प्रजातन्त्रिक विचारका चिन्तक पौडेलकाराजनीतिक दर्शन, चिन्तन र सिद्धान्तका ११ वटा पुस्तक पनि प्रकाशित छन् । स्पष्ट, निष्पक्ष र साहसी विश्लेषकको छवि समेत बनाउनु भएका पौडेलका अनगिन्ती लेख र केही साहित्यिक रचना समेत प्रकाशित छन् । नेपालका सवै जिल्लाका साथै दुइ दर्जन बढी देशको भ्रमण गरिसक्नुभएका नवनिर्वाचित राष्ट्रपति पौडेल जीवन र जगतको गहिरो अध्ययन र विश्लेषण गर्ने क्षमता राख्नुहुन्छ । राजनीतिकमा समाजवादी चिन्तक र प्रयोगकर्ताको विशेष पहिचान बनाउनु भएका पौडेल स्वच्छ छवि, सादाजीवन र उच्च विचारका प्रयोगधर्मी हुनुहुन्छ । स्पष्ट वक्ता र प्रजातान्त्रिक समाजवादका व्याख्याता पौडेल नेपाली काँग्रेस र देशको राजनीतिमा समन्वयकारी र मध्यमार्गी नेताका रुपमा परिचित हुनुहुन्छ ।

त्यसैले उहाँ पार्टी राजनीति जहिले सन्तुलित र संयमीत रहनुभयो । तत्कालिन माओवादीलाई जनयुद्धबाट राष्ट्रिय राजनीतिको मूलप्रवाहमा ल्याउने ऐतिहासिक वार्ता र सहमतिको काममा अग्रणी भूमिका निर्वाह गर्नुभएका पौडेल विस्तृत शान्ति सम्झौताका मस्यौदाकार पनि हुनुहुन्छ । सधै सहमति र सहकार्यका पक्षपाती नवनिर्वाचित राष्ट्रपति पौडेल अव नेपाल र नेपालीको सुख, शान्ति र सम्बृद्धीका लागि अविभावकीय भूमीकामा पुग्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पत्रकार उपचार कोषमा डा. मैनाली दम्पत्तिद्वारा आर्थिक सहयोग
Next post दोस्रो दमक कप खुल्ला महिला भलिवल प्रतियोगितामा इटहरी सुनसरी फाइनलमा प्रवेश (फाेटाे फिचर)