खोला–खोल्छीमा त्यतिकै खेर गइरहेको तिते फूल तेस्रो मुलुकमा माग (फाेटाे फिचर)
१४ चैत्र २०७९/बालदिवश तामाङ
जंगलको खोला खोल्छीमा त्यतिकै खेर गईरहेको तिते फुलको माग र बजार पछिल्लो समय विस्तार हुँदै गईरहेको छ । नेपाली भाषी भूटानीहरुले औधी रुचाउने फुल उनीहरु पुगेका विश्वका ८ वटा मुलुकमा नेपालबाट निर्यात हुने गरेको छ ।
तरकारीको रुपमा खाँदा तितो हुने चुवाफुल वा तिते भनिने वैज्ञानिक जात एकानथासिया प्रजातिको फुलले पछिल्लो समय राम्रो बजार पाउन थालेको छ । प्रति केजी २ देखि ३ हजार रुपयाँसम्म विक्री हुँदै आएको फुल स्थानीय देखि अमेरिकासम्मको बजारमा माग बढ्दै गएको १० बर्ष देखि जडिबुटी विक्री गर्दै आउनु भएका दमक निवासी तेन्छेदर भोटेले बताउनु भयो । भोटेका अनुसार भूटानीहरुले भूटानमा हुँदा खाने गरेका तिते फुल नेपालका जंगलमा पनि पाए पछि खान थालेका रहेछन् । त्यस पछि उनीहरु विभिन्न देश अमेरिकासम्म पुगे पछि अहिले यो खोल्छीमा खेर जाने फुलको माग तेस्रो मुलुकमा भएको हो ।औषधीको रुपमा समेत प्रयोग गरिने चुवा फुल चुरे क्षेत्रका खोला खोल्छीमा फाल्गुन देखि चैत्र महिनासम्म फुल्ने गर्दछ ।
थाहा नहुँदा त्यतिकै खेर जाने फुल राम्रो मुल्यमा विक्री हुन थाले पछि चुरे क्षेत्रका बासिन्दाहरुले संकलन गरेर विक्री समेत गर्न थालेका छन् । माङसेबुङ वडा नं. ४ का ६५ बर्षीय शिवकुमार राई अनुसार जंगली असुरो समेत भनेर चिनिने यो तिते फुल पछिल्लो समय घरबाटै विक्री हुन्छ । तिते फुल सुकाउँदै गर्नु भएका उहाँले काँचो ४ सय र सुकेको २ देखि ३ हजारसम्म विक्री हुँदै आएको छ । चुरे क्षेत्र बसोवास गर्दै आउनु भएका धनबहादुर राईका अनुसार यो सिजनमा खोज्न सक्दा खोलाखोल्छीमा धेरै पाइने गरेको छ । जंगल छेउछाउ बस्नेहरुले पुर्खा देखि नै सब्जीकोको रुपमा खाँदै आएको भए पनि विक्री भने भएको थिएन । तर भूटानीहरु तेस्रो मुलुक गए पछि यसले बजार पाउन थालेको उहाँले बताउनु भयो ।
विकिपिडियामा भएको रिसर्च अनुसार यो प्रजातिको फुलमा एन्टि प्याइरेटिक, हेपाटोप्रोटेक्टिभ, एन्टिअक्सिडेन्ट लगातयका अन्य धेरै तत्व हुने भएकाले जानकार मानिसले यसको प्रयोग गर्ने गरेका छन् । दम, खोकी, छालाको एलर्जी, प्रेसर, सुगर समेतमा प्रयोग गर्न सकिने तिते फुलबारे कमै मानिसलाई मात्र थाहा छ । बाघतिता समेत भनेर चिनिने यो फुल राम्रो मुल्यमा विक्री हुन थाले पछि संकलन र विक्री गर्नेहरुको संख्या समेत बर्षेनी बढ्दै गएको जडिबुटी व्यवसायीहरुको भनाइ छ । गाउघर तिर यसलाई राताे असुराे समेत भन्ने गरेका छन् ।