पदमबहादुर लिम्बु लाजेहाङलाई सहिद घोषणा गर्ने मन्त्रिपरिषदकाे निर्णय
२४ चैत्र २०७९,काठमाडौँ – सरकारले कोशी नामकरणको विरोधमा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बू (लाजेहाङ) लाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । आज शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हाे ।
मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति समेत उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । कोशी नामकरण सन्दर्भमा कोशी प्रदेशमा आन्दोलनको क्रममा घाइने बन्नु भएकाे लिम्बुकाे धरान स्थित वीपी मेमाेरियस विज्ञान स्वास्थ्य प्रतिष्ठानमा उपचारककोक्रममा चैत्र १० गते निधन भएकाे हाे । त्यसपछि आन्दोलनकारीसँगको छलफलबाट छानबिन समिति बनेको थियो । त्यसपछि काम प्रक्रिया अघि बढ्ने क्रममा आन्दोलनका क्रममा निधन भएका लिम्बूलाई सहिद घोषणा गर्ने र क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनु भयाे ।
यस्तै प्रवक्ता शर्माले नामकरणसम्बन्धी भइरहेको आन्दोलन र विरोधलाई प्रदेशसँग वार्ता गरी अघि बढ्न केन्द्र सरकारको सहजीकरण गर्ने निर्णय भएको बताउनु भयाे । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै गत चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सुरक्षाकर्मीको लाठी प्रहारबाट गम्भीर लिम्बु घाइते बनेका थिए । धरान–१५ बाझगरा बस्दै आएका ४२ वर्षीय लाजेहाङ कुमार लिङ्देन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बूवान भोलेन्टियरका केन्द्रीय सह–कमान्डर रहेका थिए ।