रुकुममा जिप दुर्घटना हुँदा ५ जनाकाे मृत्युः १० जना घाइते
११ जेष्ठ २०८०,रुकुम पश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका -८, दुलीमा बिहीवार भएको जिप दुर्घटनाका पाँच जनाको पहिचान खुलेको छ । सानीभेरी गाउँपालिका -५, हाँसुबाट मेलचौर हुँदै सदरमुकाम खलंगा तर्फ जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेर मृत्यु भएका पाँच जनाको पहिचान खुलेको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक बिष्णु कुमार श्रेष्ठका अनुसार दुर्घटनाका सबै मृतक र घाइतेको पहिचान खुलेको छ ।
दुर्घटनामा परेर सानीभेरी गाउँपालिका -५, का ७० वर्षीय कर्ण बाँठा मगर, ४८ वर्षीय देउचन खत्री र २३ वर्षीया सितला कुसारीको मृत्यु भएको छ । त्यस्तै बाँफिकोट गाउँपालिका -८ की २२ वर्षीया रेखा खनाल केसी र उनको २२ दिने बच्चा रोशन केसीको मृत्युु भएको प्रहरीले बताएको छ । दुर्घटनामा अन्य १० जना घाइते भएका छन् । चार जना गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत नेपालगन्ज लगिएको छ । अन्य ६ जना घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको छ । १५ जना सवार रहेको जिप सडकबाट ४ सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । जिप ब्रेक फेल भएर दुर्घटनामा परेको जनाइएको छ ।